२०८२ आश्विन १४, मंगलवार ०६:१४

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी तथा जेनजी आन्दोलनका शहिद परिवारको समेत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित शीतलपुरमा आयोजित शुभकामना आदान– प्रदान कार्यक्रममा सोमबार बोल्दै अध्यक्ष साहले जेन– जी आन्दोलनकै बलमा बनेको सरकारमा सोही आन्दोलन र शहिद परिवारलाई स्थान नदिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । “अहिलेको सरकार जेनजी आन्दोलनको बलमा गठन भएको छ।



यो सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,” अध्यक्ष साहले भने । उनले कांग्रेस र एमालेको दुई–तिहाइ बहुमतको सरकार मुलुकलाई संकटबाट जोगाउन असफल भएको आरोप लगाए। अहिले यी दुवै दलभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको उल्लेख गर्दै साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडि बढे मुलुक र सो पार्टीकै हित हुने बताए ।

अध्यक्ष साहले एमालेले ओलीलाई र कांग्रेसले देउवालाई निरन्तर अगाडि राखेर देशलाई संकटतर्फ धकेलिएको दाबी गर्दै अब यी बुढा नेताहरुलाई स्थायी रुपमा राजनीतिबाट बिदाई गर्नु समयको आवश्यकता भएको टिप्पणी गरे । उनले अहिलेको संविधानबाट समस्या समाधान नहुने ठोकुवा गर्दै अन्तरिम सरकार र अन्तरिम संविधानमार्फत मात्र मुलुकलाई निकास मिल्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा आजपा सचिवालय सदस्य तथा फतुवा विजयपुर नगरपालिकाका मेयर पदका उम्मेदवार विजय यादव ‘ निर्विज’, सचिवालय सदस्य तथा वडा अध्यक्ष संजय यादव, आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दास, केन्द्रीय सदस्यहरू सेरबहादुर पटेल, रामाशंकर पासवान, ब्रह्मा नारायण यादव, श्रीभगवान पटेललगायतको सहभागिता रहेको थियो ।

सोमबार फतुवा विजयपुर नगरपालिकाका वडा नं ६ पेटभर्वा र वडा नं १ गमहरियामा शुभकामना आदान– प्रदान कार्यक्रम सम्पन्न भएको थियो । यसअघि आइतबार देवाही गोनाही नगरपालिकाको कर्कच, उचिडीह तथा कटहरिया नगरपालिकाको डुमरियामा आम जनता पार्टीले हिन्दू नेपालीहरूको महान् चाडपर्व विजया दशमी, दीपावली र छठ पर्वका अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको पार्टीका सचिवालय सदस्य रामशरण यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News