२०८२ आश्विन १४, मंगलवार ११:१८

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले बुधबार (नवमी) र बिहीबार (दशमी) को दिन पनि उल्लेख्य वर्षाको सम्भावना व्यक्त गरेको छ।

असोज १५ गते महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

असोज १६ गते टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेलले दसैंपछि, १ अक्टोबर अर्थात् नवमीको दिनदेखि ७ अक्टोबर अर्थात् असोज २१ गतेसम्म भीषण वर्षाको सम्भावना देखाएका छन्। उनका अनुसार विभिन्न तीनवटा मोडलले देशको मध्यदेखि पूर्वी भेगसम्म भीषण वर्षाको सम्भावना औंल्याएको छ।

युरोपियन सेन्टर फर मिडियम–रेञ्ज वेदर फरकास्ट (इसिएमडब्ल्युएफ) ले त मधेसमा मुसलधारे पानी पर्ने सम्भावना औंल्याएको छ। त्यस्तै कोशी प्रदेशको राजधानी विराटनगरमा पनि ठूलो वर्षाको सम्भावना औंल्याएको छ।

आइसिओएन भन्ने अर्को मोडलको प्रक्षेपणअनुसार अक्टोबर १ देखि अक्टोबर ६ सम्म बागमतीदेखि कोशीसम्मै ठूलो वर्षाको सम्भावना देखाएको छ।

ग्लबोल फरकास्ट सिस्टम (जिएफएस) ले पनि पोखरादेखि झापासम्मै ठूलो वर्षाको सम्भावना देखाएको पोखरेलले बताएका छन्।

‘तीनवटा मोडलले गत वर्ष (असोज १० देखि १३) गतेकै जस्तै भीषण पानी पर्ने सम्भावना उच्च छ। अहिले तीन वटै मोडल्सले भारी वर्षा हुने देखाएको छ। भोलिदेखि हल्का, मध्यम वर्षा हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरू हुने देखिन्छ,’ उनले भनेका छन्।

उनले दसैंपछि यात्रा गर्दा र बाली भित्र्याउँदा विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्। दसैंपछि लगातार तीन–चार दिनसम्म पानी पर्ने प्रक्षेपण उनको छ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको बताए पनि सरदरभन्दा कम वर्षा भएको छ। यसवर्ष सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको थियो। नेपालमा मनसुन याममा १४७२ मिलिमिटर औसत वर्षा हुने अनुमान गरिन्छ।

Comment


Related News

Latest News

Trending News