२०८२ आश्विन १५, बुधबार ०७:४९

मनुसन बाहिरिने बेलामा पानी पार्ने प्रणाली पुनः सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको छ।

तर बंगालको खाडिमा विकसित भएको न्यूनचापीय प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने देखिएको छ।

उक्त वर्षा गराउने प्रणालीको कारणले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने सम्भावना देखिएको छ।

यो नयाँ मनसुनी प्रणालीको प्रभावले असोज १७ (एकादशी) का दिनबाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म वर्षा हुने सम्भावना देखिएको छ।

नेपालमा यस वर्षको दसैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने पनि महाशाखाले जनाएको छ।

असोज १७ (एकादशी) गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

असोज १८ (द्वादशी) गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

असोज १९ (त्रयोदशी) गते का दिन त महाशाखाले ९ जिल्लामा रेड अलर्ट जारी गरेको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा को सम्भावना छ। महाशाखाले त्यस दिन रूपन्देही, नवलपरासी सुस्ता पूर्व र पश्चिम, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही जिल्लामा अति भारी वर्षा प्रक्षेपण गर्दै रेड अलर्ट जारी गरेका हो।

त्यसदिन नारायणगढ– बुटवल, नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

Comment


Related News

Latest News

Trending News