२०८२ आश्विन १५, बुधबार १९:२३

बिराटनगरमा “जेन जी आन्दोलन र भविष्यको दिशाबोध” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । दीगो विकास तथा शान्ति यात्रा संस्थाद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रुपमा अनुसन्धानविद् तथा लेखक–विश्लेषक डा. दिपक चौधरीले जेन जी आन्दोलनका कारण, परिणाम र भविष्यको सम्भावित दिशाबारे मौखिक प्रस्तुतीकरण गर्नुभयो।

डा. चौधरीका अनुसार जेन जी आन्दोलनको मूल कारण कुशासन र बेरोजगारी हो। तत्कालीन नेतृत्वले आर्थिक समस्या सम्बोधन गर्न नसक्नु, सत्तामोह राजनीति, अप्रजातान्त्रिक अभ्यास, गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण शासन प्रभावकारी नबनिदाँ आम नागरिक निराश बनेको र आन्दोलन चर्किएको उहाँले बताउनुभयो। उहाँले थप्नुभयो, “सामाजिक सञ्जाल बन्द हुनु आन्दोलनको एउटा कारक मात्र थियो, तर मूल कारण शासन र नेतृत्वको विफलता हो।”

सरकारको दमनले आन्दोलनलाई झनै तीव्र तुल्याएको भए पनि केही अराजक तत्व र अवसरवादीहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरेको घटना निन्दनीय भएको उल्लेख गर्दै डा. चौधरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताए।

सुधारका एजेन्डा

भविष्यको दिशाबोधमा प्रस्तुत विचारमा पारदर्शिता, जवाफदेहिता, सुशासन, प्रविधिमैत्री शिक्षा, सीपमूलक कार्यक्रम, सजिलो सार्वजनिक सेवा प्रवाह र ई–गभर्नेन्सलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइयो। साथै, राजनीतिक सुधार, पार्टीभित्र नेतृत्व चयनको पारदर्शिता र कार्यकाल सीमा (१–२ कार्यकाल) लागू गर्नुपर्ने, शासन संरचनामा प्रत्यक्ष कार्यकारी प्रणालीबारे छलफल आवश्यक रहेको उल्लेख गरियो।

डा. चौधरीले निर्वाचन प्रणालीलाई पारदर्शी र सस्तो बनाउन प्रविधिको प्रयोग गर्न सकिने, संसदलाई कानून निर्माण मात्र गर्ने थलोका रुपमा सीमित गर्न सकिने र प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारीले विज्ञ टोलीमार्फत सरकार सञ्चालन गर्ने मोडेलबारे छलफल हुनुपर्ने बताउनुभयो।

त्यस्तै, नागरिक समाज पार्टीगत प्रभावमा परेर कमजोर बनेको भन्दै यसले सकारात्मक भूमिका खेल्नुपर्ने, जेन जी पुस्ताले निरन्तर खबरदारी गर्नुपर्ने र अवसरवादी तत्वलाई निरुत्साहित गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरियो।

सहभागीहरूको प्रतिक्रिया

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. एसएन झा, संस्कृतिविद् डा. बाबुराम तिम्सिना, महेन्द्र मोरंग क्याम्पसका पूर्व प्रमुख डा. सरोज चौधरी, अनुसन्धानकर्मी तथा कार्यक्रम संयोजक सन्दिप चौधरी, उद्यमी सन्जय देव र युवा अभियन्ता बिक्रम देवले टिप्पणी राख्दै राजनीतिक सुधार र नेतृत्वको गुणस्तर सुधारमा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा वक्ताहरूले “दशैंले सत्यको विजय हुने सन्देश जस्तै, अबको राजनीति र शासन प्रणाली पनि पारदर्शी, जवाफदेही र सुशासनमुखी बन्नुपर्ने”मा जोड दिएका थिए।

Comment


Related News

Latest News

Trending News