२०८२ आश्विन १७, शुक्रबार १४:५२

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक जेन–जी आन्दोलनलाई सम्मान गर्नुको साटो वर्तमान सरकारले शोकको माहोल सिर्जना गरेर आन्दोलनलाई बदनाम गरेको आरोप लगाएका छन् ।

दशैं, दिपावली र छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गरूडा नगरपालिका–जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, “युवाहरूको अदम्य साहस र बलिदानीका कारण देशमा ऐतिहासिक जनक्रान्ति सफल भयो । तर, युवाहरूले जितेको बेलामा देशव्यापी उत्सव मनाउनुपर्नेमा अहिलेको सरकारले शोक गरेर आन्दोलनलाई बदनाम गर्‍यो ।”

साहका अनुसार विश्वका ठूला राजनीतिक परिवर्तनहरूमा बलिदानी हुने परम्परा रहेजस्तै नेपालमा पनि युवाहरूको साहसिक संघर्षले परिवर्तन सम्भव बनाएको हो । तर, सरकारले यो ऐतिहासिक योगदानको गौरव गाउनुपर्नेमा उल्टै जनआन्दोलनको भावनालाई कमजोर तुल्याएको उनको गुनासो थियो ।

साहले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलन र सहिदहरूको सम्मान गर्न नसकेको आरोप लगाउँदै भने, “यो सरकारले आशा जगाउन सकेन, केवल निराशा बाँड्यो । आन्दोलनको विजय गाउनुको साटो शोक मनायो ।”

साहले प्रधानमन्त्री कार्कीलाई सरकार गठनमा ढिलाइ र महिला सहभागी गराउन नसकेकोमा आलोचना गरे । “महिला प्रधानमन्त्री भए पनि एक जना महिलालाई पनि मन्त्री बनाउन सकिनन् । देशमा योग्य महिलाहरूको अभाव छैन, तर सरकारले महिलालाई अवसर दिएन,” उनले भने ।

उनले जनक्रान्तिको भावनाअनुसार युवा नेतृत्वको अपेक्षा गरिएको भए पनि सत्तामा पुनः पुरानै नेताहरूको वर्चस्व देखिएको दाबी गरे । “युवाहरूले ७० वर्ष नाघेका पुराना नेताहरूलाई सत्तामा ल्याउन आन्दोलन गरेका होइनन् । आन्दोलनको मर्ममाथि खेलवाड भइरहेको छ,” साहले भने ।

साहले हालको संविधानलाई मुलुकको समस्याको मूल जरा भन्दै त्यसलाई खारेजी गरी अन्तरिम सरकार र अन्तरिम संविधानमार्फत मात्र देश निकास पाउने ठोकुवा गरे । “हामीले सुरुदेखि नै यो संविधान देशलाई पार लगाउन सक्दैन भनेर तेस्रो जनआन्दोलनको घोषणा गरेका थियौं । अहिले पनि यही संविधानले समाधान दिन सक्दैन,” उनले भने ।

उनले युवाहरूको आन्दोलन केवल केन्द्रमा सरकार बदल्नका लागि नभई देशभर रहेका ७६१ वटा सरकारमा व्याप्त भ्रष्टाचार र लुटविरुद्ध भएको उल्लेख गरे । “आन्दोलन गर्नेहरूको उमेर समूह युवा थियो, तर सत्ता कब्जा गर्नेहरू पुरानै अनुहार बने । भ्रष्टाचारमाथि प्रहार गर्न गरिएको आन्दोलनलाई बेवास्ता गर्दै देश पुरानै बाटोमा हिँडाइयो,” साहले भने ।

साहले जेन–जी पुस्ताको योगदानलाई ऐतिहासिक रूपमा स्वीकार गरी देशलाई नयाँ दिशा दिने माग गर्दै अन्तरिम संविधानमार्फत मात्रै राजनीतिक स्थायित्व र विकास सम्भव हुने धारणा राखे ।

Comment


Related News