
रौतहट जिल्लामा बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि अस्थायी तथा नदी किनारमा बसोबास गर्ने बस्तीहरूमा बाढी जोखिम बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि सशस्त्र प्रहरी बलले अग्रिम रूपमा सतर्कता र उद्धार कार्य अघि बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण, हे.क्वा. रौतहट र मातहतका सन्तपुर, दुधियाभार, बिजयपुर र समनपुर लगायत सम्पूर्ण बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गर्दै बाढीग्रस्त हुन सक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
जिल्ला विपद् व्यवस्थापनको निर्देशनअनुसार असोज १७ गते मात्र वृन्दावन नगरपालिका–१ स्थित भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा बसोबास गर्ने १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी राम हरी अधिकारीले जानकारी दिएका छन्।
“बाढी जोखिम उच्च भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौं। हाम्रो सबै टोली २४ सै घण्टा उद्धार र आपतकालीन राहतका लागि स्ट्यान्डबाइ अवस्थामा छन्,” एसपी राम हरी अधिकारी जानकारी दिएका छन्।
पूर्वतयारी र समन्वय
बाढी जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
विशेष गरी बागमती र लालबकैया नदी आसपासका बस्तीहरू — भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इश्नाथ, देवाही गोनाही र गरुडा क्षेत्र —लाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ।
हरेक वर्षको मनसुनमा बागमती र लालबकैया नदी किनारका बस्तीहरूमा बाढी र डुबानको जोखिम बढ्ने गरेको छ। यो पटक सशस्त्र प्रहरी र स्थानीय प्रशासनको अग्रिम कार्यवाहीले संभावित मानवीय क्षति घटाउन सहयोग गर्ने देखिन्छ।