
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अविरल बर्षाका कारण गएको बाढी र पहिरोका कारण देशभर ४४ जनाको मृत्यु भएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले सवै भन्दा बढि इलाममा ३७ जनाकोे पहिरोमा परेर मृत्यु भएको जानकारी दिनुभयो । उहाले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल दुई लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरि घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने निर्णय भएको उहाले बताउनुभयो ।
अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई निरन्तरता दिने उहाले जानकारी दिनुभयो ।
भट्टले विपद्जन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको बताउनुभयो ।
अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सूचारु गर्न सडक विभागलाई लेखी पठाउने, अर्को सुचना जारी नभएसम्मका लागि जोखिमपूर्ण राजमार्गमा रात्री कालीन यातायात सञ्चालन नगराउने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।
त्यस्तै प्राधिकरणको मनसुन प्रतिकार्य कमाण्ड पोष्टले अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ ।