२०८२ आश्विन २०, सोमबार १०:१२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

यस्तै, प्राकृतिक विपद्मा परेकाहरूले राम्रोसँग खान, बस्न पाउने अवस्था नबने पछि खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिने उहाँको भनाइ छ । त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानसमेत उहाँले अनुरोध गर्नुभएको छ । मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरेको छ ।

मन्त्रालयले आपत्कालीन अवस्थामा स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था रहेकाले हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

Comment

Related News

Latest News

Trending News