२०८२ आश्विन २०, सोमबार १०:५८

अविरल वर्षाका कारण रौतहट जिल्लामा जनजीवन कष्टकर बनेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीका अनुसार लगातारको वर्षाका कारण जयनगर–मौलापुर–सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने बाटोमा एक स्थानमा सडक बगाएको छ। आईतवार साँझ खोल्सिको पानीको भेलले सोनारनिया गाउँदेखि पश्चिमतर्फ कालोपत्रे सडकमा करिब ७–८ फिट सडक बगाउँदा यातायातमा अवरोध आएको छ।



उक्त सडक खण्डमा अहिले साइकिल र मोटरसाइकलले मुस्किलले आवतजावत गरिरहेका छन् भने चारचक्के सवारी साधनले वैकल्पिक मार्गका रूपमा सोनारनिया–सागैया–पिपरिया हुँदै हुलाकी सडक प्रयोग गरिरहेका छन्।

सदरमुकाम गौर नगरपालिकामा जमेको पानी अझै निकास नहुँदा स्थिति थप गम्भीर भएको छ। बजारका हरेक गल्ली र सडकमा पानी जमेको छ भने अधिकांश पसल, घर र कार्यालयमा समेत पानी पसेको छ। गौरबासीहरूले पानी कहिले निकास हुने हो भन्ने चिन्ता व्यक्त गरेका छन्।

सबगढा लचकामा पानीको तीव्र बहावका कारण यातायात आवागमन रोकिएको छ। स्थानीयवासीहरू ट्याक्टरमार्फत आवतजावत गर्न बाध्य भएका छन्। गौरको मुख्य सडकमा करिब डेढ फिट र नेपाल लाज भन्सार क्षेत्र वरपर दुई–तीन फिटसम्म पानी जमेको छ। जिल्ला अदालत, मालपोत कार्यालयसहित प्रायः सबै सरकारी कार्यालयको प्राङ्गण जलमग्न भएको छ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ र २ स्थित लचकामा पानीको बहाव कम भएपछि गाडी आवतजावत सामान्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।

सशस्त्र प्रहरी बल नं। ११ हेक्वा हजमिनिया रौतहटमा दुई–तीन फिटसम्म पानी जमेको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार शनिबारको अविरल वर्षाका कारण अधिकांश घरमा पानी पसेको छ।

बागमती नदीको पानीको सतह हाल सामान्य भए पनि समनपुर–धरमपुर सडक खण्डमा पानीका कारण यातायातमा कठिनाइ भएको छ। जिल्लाको पश्चिमी भेगमा रहेको लालबकैया नदी र पूर्वी क्षेत्रमा रहेको चाँदी खोला र झाँझ खोलाको अवस्था भने अझै सामान्य हुन सकेको छैन।

बागमती र लालबकैया नदीका केही स्थानमा आइतवार बाँध फुट्दा सयौं बिगाहा धान र उखु खेतीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासन, नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल नेपाली सेना सतर्कतापूर्वक राहत तथा उद्धारमा खटिएका छन्।

Comment


Related News

Latest News

Trending News