२०८२ आश्विन २१, मंगलवार ०७:३६

जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा– रुपैठामा भएको दुई समुदायबीचको विवाद सर्वदलीय सहमतिमार्फत साम्य भएको छ ।

जनकपुरधाममा सोमबार देवपुरा– रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच दुर्गा माताको मूर्ति सेलाउने क्रममा उत्पन्न विवाद करिब चार दिनपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीय निकाय, राजनीतिक दल र धार्मिक अगुवाबीच भएको सर्वदलीय–सर्वपक्षीय बैठकले सामाजिक सद्भाव पुनःस्थापनाका लागि चार बुँदे निर्णय भएसंगै दुई समुदायबीचको विवाद साम्य भएको छ ।

दुर्गा पूजाको मूर्ति सेलाउने क्रममा दुई धार्मिक समुदायबीच भनाभन र ढुंगा प्रहारसम्म पुगेको घटनाले देवपुरा रुपैठा क्षेत्रलाई तनावग्रस्त बनाएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो भने केही व्यक्तिहरू घाइतेसमेत भएका थिए ।

यस घटनाले जनकपुरधामको दीर्घकालीन सामाजिक सद्भावमा असर पर्ने खतरा देखिएपछि प्रशासनिक र राजनीतिक तहमा निरन्तर छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा सम्पन्न उक्त बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, दुबै समुदायका धार्मिक अगुवा, प्रहरी प्रशासन र नागरिक समाजका प्रतिनिधि सम्मिलित थिए ।

बैठकले तेलिया पोखरी विवादका पुराना सहमति पुनः कार्यान्वयन गर्ने सहमति गरिएको छ । गत २०७८ कार्तिक २९ र २०८२ भदौँ १६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएका ‘तेलिया पोखरी विवाद व्यवस्थापनसम्बन्धी बैठक’ का सबै निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गरिने सहमति भएको छ ।

ती निर्णयहरूमा धार्मिक कार्यक्रमहरूमा पारस्परिक सम्मान, स्थानीय तहको समन्वय र कुनै पनि विवादित गतिविधिमा राजनीतिक संरक्षण नदिनेजस्ता बुँदाहरू समावेश थिए । त्यस्तै, हिन्दु र मुस्लिम दुवै समुदायका अगुवाले आ–आफ्नो तर्फबाट धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने र नगराउने प्रतिबद्धता जनाएका छन् ।

धर्मका नाममा भएका अराजक र गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन अनुसार कारबाही गर्न सबै पक्षले सहयोग गर्ने निर्णय भएको छ । बैठकमा सहभागी सबै राजनीतिक दलहरूले कुनै पनि प्रकारको उन्माद वा दंगा प्रवृत्तिलाई संरक्षण नगर्ने र आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सद्भावका पक्षमा खटाउने सहमति जनाएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले धर्मको नाममा अराजकता फैलाउने कसैलाई पनि उन्मुक्ति नदिने चेतावनी दिएका छन् । प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘सद्भाव र सहअस्तित्व हाम्रो साझा मूल्य हो । धर्मका नाममा हिंसा भड् काउने कसैलाई पनि प्रशासनले कानूनीरूपमा कडा कारबाही गर्छ ।’ बैठकमा उपस्थित दुबै समुदायका धार्मिक अगुवाहरूले सहिष्णुता र आपसी समझदारी नै दीर्घकालीन शान्तिको आधार भएको बताए ।

हिन्दु समुदायका एक अगुवाले भने, ‘मूर्ति विसर्जन उत्सव हो, प्रतिस्पर्धा होइन । हामी सबैले आफ्नो धर्म मनाउने तर अरूको धर्मको सम्मान गर्ने संस्कार बिर्सनु हुँदैन ।’ मुस्लिम समुदायका प्रतिनिधिले थपे, ‘मिथिलाको धरातल नै सद्भावको हो । यसलाई बिगार्ने जो कोही भए पनि हाम्रो समर्थन पाउने छैन ।’ देवपुरा–रुपैठा पटकपटक तेलिया पोखरीलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो ।

Comment


Related News

Latest News

Trending News