२०८२ आश्विन २१, मंगलवार ११:१५

लगातारको वर्षाले आएको बाढीका कारण रौतहटको सदरमुकाम गौर अझै डुबानमा रहेको छ।

गौर चन्द्रनिगाहपुर मुख्य सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ सबगढा गाउँ छेउको लच्कामा पानीको तीब्र बहावको कारण गौरसँगको आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। हाल ट्याक्टरमा चढाएर मानिसहरू वारिपारी गर्न बाध्य भएका छन्।

गौर बजारबाट करिब पाँच किलोमिटर उत्तर सबगढासम्म मात्र सवारी साधन पुग्न सक्ने अवस्था छ। त्यसपछि पैदल हिँड्न समेत कठिन भएको स्थानीय बासिन्दाले बताएका छन्। सीमाक्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण वर्षेनी गौर डुबानमा पर्ने गरेको र यस वर्ष पनि सोही कारण पानीको निकास नहुँदा समस्या झन् गम्भीर बनेको हो। सोमवार देखी मौसम खुलिसकेको भए पनि गौर बजार अझै जलमग्न रहँदा स्थानीय बासिन्दा र व्यापारीलाई हिँडडुल र आवतजावतमा ठूलो समस्या परेको छ। डुबानका कारण जिल्लास्थित सरकारी कार्यालयहरू समेत सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका छन्।

जिल्लाका मुख्य नदीहरू बागमती र लालबकैया नदीको पानीको सतह केही घटेपनि गौर बजारमा पानी निकास नहुँदा डुबानको स्थिति यथावत छ। नेपाल–भारत आवागमन पनि कठिन बनेको छ। सशस्त्र प्रहरी बलले रबर बोटमार्फत स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य निरन्तर गरिरहेको छ।

त्यस्तै, बौधीमाइ नगरपालिका–इनरवारी हुँदै देवाही गोनाहीतर्फ जाने बाटो बाढीले अवरुद्ध बनाएको छ, जयनगर कलैया सडकखण्ड अन्तर्गत सनारानिया गाउँ भन्दा पश्चिम करीब ७रु८ फिट कालोपत्रे बगाएपछि सवारी साधन अवरुद्ध भएको छ। स्थानीयले उक्त स्थानमा बाँसको लचका राखेर पैदल, साईकल, मोटरसाईकल वारिपारी गरिरहेका छन्।जसका कारण यातायात र जनजीवन प्रभावित भएको छ।

Comment


Related News

Latest News

Trending News