२०८२ आश्विन २१, मंगलवार १३:१८

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिकामध्ये दुवैको शव फेला परेको छ।

अविरल वर्षापछि खेतमा बगेको पानीले भरिएको खाल्डो (भंगालो) मा आइतबार दिउँसो करिब डेढ बजे नुहाउने क्रममा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी राम डुबेर बेपत्ता भएका थिए।

घटनापछी इलाका प्रहरी कार्यालय गोनाहीबाट खटिएको ६ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बेस क्याम्प देवाही र स्थानीयवासीको सहयोगमा रातभर खोजतलास गरिएको थियो।

सोही क्रममा आरती कुमारी रामको शव घटनापछि करिब २० घण्टापछि फेला पारिएको हो। यस्तै, आज बिहानै अन्तिमा कुमारी रामको शव पनि संयुक्त सुरक्षाकर्मी र स्थानीयको सहयोगमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले जानकारी दिए।

खोजिकार्यमा खटिएका इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर कमल लुङ्गेलीका अनुसार बालिकाहरू नुहाउने स्थानभन्दा करिब १० फिट तल रहेको गहिरो खाल्डोमा डुबेका थिए। खाल्डो जलकुम्भीले ढाकिएको हुँदा उनीहरूलाई तत्काल देख्न कठिन भएको थियो। मृतक दुवैजना बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको ईलाका प्रहरी कार्यालय गोनाहिले जनाएको छ ।

डिएस्पी कार्कीले हालको अविरल वर्षाले नदी, पोखरी र खेतका भंगालोहरूमा पानी भरिँदा डुबान र डुबेर मृत्यु हुने जोखिम बढेको भन्दै अभिभावकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

रौतहटमा वर्षाका कारण सदरमुकाम गौर संगै गाउँ–गाउँमा डुबानको जोखिम उच्च बनेको छ र यसले जनजीवन प्रभावित पारेको छ।

Comment


Related News

Latest News

Trending News