२०८२ आश्विन २१, मंगलवार १७:२९

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । क्वान्टम मेकानिक्सबारे अनुसन्धान गरेका र अमेरिकामा कार्यरत जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिसलाई पुरस्कार दिइने नोबेल समितिले जनाएको छ ।

विद्युतीय सर्किटहरूमा ठूलो मात्रामा क्वान्टम टनेलिङ र ऊर्जा स्तरको खोजका लागि तीन जना वैज्ञानिकलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । विजेताहरूले संयुक्त रूपमा १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउने छन् ।



गएको वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार एआई र मशिन लर्निङसम्बन्धी आविष्कारका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्प्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई प्रदान गरिएको थियो ।

सन् १९०९ देखि भौतिकशास्त्रतर्फ अहिलेसम्म १ सय १९ पटक गरी २ सय २९ जनालाई नोबेल पुरस्कार दिइएको छ ।

यसअघि नोबेल पुरस्कार समितिले हिजो चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो । नोबेल पुरस्कार समितिका अनुसार भोलि रसायनशास्त्र, पर्सि साहित्य, शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुनेछ ।

Comment


Related News