२०८२ आश्विन २२, बुधबार ०७:३१

मधेश प्रदेशमा सरकारको नेतृत्व लिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सक्रियता बढाए लगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले सरकार गठनको तयारी सुरु गरेको छ ।

दशैँको विदा र व्यस्तताको कारण मधेश प्रदेश सरकार गठनको प्रक्रिया शिथिल भएको थियो । ठाकुरले सरकारको नेतृत्वका लागि समर्थन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसित प्रत्यक्ष र टेलिफोन संवाद गरेका छन् । लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले जनाए अनुसार अध्यक्ष ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूसँग संवाद गरेका हुन् ।

‘केहीसँग टेलिफोनमा संवाद भएको छ ’ उनले भने, कोही नेताले अध्यक्ष ठाकुरलाई नै भेटेर वार्ता गर्नुभएको छ । नेता शुक्लका अनुसार मधेश प्रदेश सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका विषयमा छलफल भएको हो । लोसपा अध्यक्ष ठाकुरसित भएको संवादलाई कांग्रेसका एकजना नेताले पनि पुष्टि गरेका छन् । तर उनले संवादबारे धेरै खुलाउन चाहेनन् ।

मधेश प्रदेशमा लोसपाको ९ जना सभासद छन् । त्यसमध्ये एकजना ज्यान मुद्दामा फरार रहेको कारण निलम्बनमा परेका छन् । लोसपालाई नेपाली कांग्रेस, एमाले र जनमत पार्टीको समर्थन भए सहजै सरकार गठन गर्न सक्ने गणित छ । ठाकुरलाई कांग्रेसका नेताहरुले कांग्रेसको नेतृत्वमा नै सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

ठाकुरलाई सरकारमा सहभागी नभए तीन दलीय गठबन्धनको सरकार बन्ने जानकारी दिइएका छन् । कांग्रेसले तीन दलीय गठबन्धन सरकार गठनको खाका बनाउन बुधबारदेखि छलफल गर्ने जनाइएको छ । कांग्रेस, एमाले र जनमतको गरी सरकार बनाउन चाहने ५८ जना सभासद हुन्छ ।

एमालेको २५ जना सभासद मध्ये एकजना निलम्बनमा र एकजना सभामुख छन् । नेपाली कांग्रेसको २२ जना सभासद छन् । जनमत पार्टीको १३ जना सभासद रहेका छन् । मधेश प्रदेशमा सरकार गठनका लागि ५४ जना सभासद चाहिन्छ । जेन– जी आन्दोलनले ३६ घण्टामै संघीय सरकार अपदस्थ भए पनि प्रदेशहरुमा चार दलीय गठबन्धनको सरकार कायमै छ ।

मधेश प्रदेशमा सरकारबाट जनमत पार्टी हटिसकेर समर्थन समेत फिर्ता लिइसकेको अवस्था छ । नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको कारण मुख्यमन्त्री सतीशकुमार सिंह अल्पमतमा परेका छन् । उनका आफ्नै दलले समेत साथ छाडिसकेको छ । संसदमा रहेका एमाले बाहेक सबै दलले मुख्यमन्त्री सिंहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रदेश सभामा नै भनिसकेका छन् ।

यस अघि मधेश प्रदेशको चार दलीय गठबन्धनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ । त्यसपछि चार दलीय गठबन्धनको बैठक हुन सकेको छैन । यद्यपि तीन दलीय गठबन्धन सरकारमा लोसपालाई पनि साथमा लिएर अघि बढ्ने योजना रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

लोसपालाई पछिल्लो समय सरकारमा एउटा मन्त्रालय दिएको थियो । जनता समाजवादी पार्टी( जसपा) नेपाल र जनमत पार्टी नेतृत्वको सरकारमा लोसपाले एउटा मन्त्रालय पाएको थियो । त्यही अनुसार अब बन्ने प्रदेश सरकारमा पनि एक मन्त्रालय लोसपा नेपालका लागि छुट्याएर राख्ने योजना रहेको जनाइएको छ ।

लोसपाका अध्यक्ष ठाकुरले मधेश केन्द्रित तीन दल मध्ये जसपा नेपाल र जनमत पार्टीले सरकारको नेतृत्व गरिसकेको कारण अबको पालो आफ्नो भएको तर्क दिने गरेका छन् । कांग्रेस र एमाले सहितको गठबन्धनमा जनमत पार्टी मात्र रहे लोसपाको आवश्यकता सरकार बनाउन पर्ने छैन । ठाकुरले आफ्नो सक्रियतालाई अघि बढाउँदा कांग्रेसले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गरेर अघि बढ्ने निष्कर्षमा पुगेको छ ।

झण्डै २४ दिनदेखि मधेश प्रदेश सरकार अल्पमतमा नै चलेको छ । असोज २८ गते भित्र मुख्यमन्त्री सिंहले विश्वासको मत लिन नसके स्वतःपदमुक्त हुनेछ । मधेश प्रदेशसभामा लोसपा नेपालको ९ सिट, जसपा नेपालको १९, जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको ९, कांग्रेसको २२, एमालेको २५, नेकपा एसको ७ प्रदेश सभासद छन् ।

त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक÷एक जना प्रदेश सभासद छन् । १०७ जना सदस्य रहेको प्रदेश सभामा सरकार बनाउन ५४ जना चाहिन्छ । कांग्रेस, एमाले र जनमत मिलाएर मधेश प्रदेश सरकार गठन हुने देखेपछि लोसपा नेपालले मुख्यमन्त्री पद नै ताकेपछि कांग्रेसले तत्काललाई लोसपालाई बेवास्ता गरी अघि बढ्ने योजना बनाएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News