धनुषाको विदेह नगरपालिका–२ स्थित दुहबीमा गएराति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार गएराति सुत्नका लागि जाँदै गर्दा फलामे गेटमा करेन्ट प्रवाह भएपछि पण्डित गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याए पनि चिकित्सकले भने मृत घोषणा गरेका थिए ।
पण्डित जन्मजात अपांग थिए । उनी राति सुत्ने क्रममा घरको मुख्य गेट बन्द गर्न खोज्दा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धुनषा प्रहरीले जनाएको छ । घरमा बिजुलीको तार कटेपछि फलामको गेटमा करेन्ट प्रवाह भएको कारणले दुर्घटना भएको आशंका गरिएको छ ।
स्थानीयवासीका अनुसार हरि पण्डित बालबालिकालाई ट्युशन पढाएर जीविकोपार्जन चलाउँदै आएका मिहेनती व्यक्ति थिए । उनको परिवारमा एक छोरा र एक छोरी रहेका छन् । छोरा विदेशमा छन् भने छोरीको विवाह भइसकेको छ ।
श्रीमती भने श्रीमानको निधनको समाचार सुनेपछि अचेत रहेको आफन्तजनले जानकारी दिए ।



