२०८२ आश्विन २२, बुधबार ०७:५७

पर्साको वीरगञ्जमा एक साता अघि एकजना हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । वीरगञ्ज महानगरपालिका वडा– १० स्थित गीता मन्दिर छेउमा गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्यामा संलग्न मुख्य आरोपीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार हत्याका मुख्य अभियुक्त अंशु गिरीलाई घटनाको एक सातापछि वीरगन्जबाट पक्राउ गरिएको हो । गिरी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोरे घर भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले गोल्डेनको हत्या ‘कुख्यात ग्याङस्टर’ बन्ने युवाहरूको होडबाजी र उनीहरूबीचको पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण भएको जनाएको थियो ।

गत असोज १४ गते राति करिब ११ः३० बजे झैँ–झगडा भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय गोल्डेनलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको थियो । पर्सा प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ ।

घटनाको दिन गोल्डेन गहवामाईको मेला हेर्न गएको मौका छोपी पुरानो रिसइबी साध्नका लागि विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर आक्रमण गरेका थिए । प्रहरीका अनुसार आरोपीहरूले हात, मुक्काका साथै बाँसका भाटा समेत प्रहार गरी उनको हत्या गरेका थिए । मुख्य अभियुक्त भनिएका गिरी पक्राउ पर्नुअघि नै पर्सा प्रहरीले हत्यामा संलग्न थप पाँच जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News