वीरगन्जको भानुचोकस्थित एक होटलमा दुई जना भारतीय नागरिक मृत फेला परेका छन्। होटल शाह पाराडाइजमा पश्चिम भुवनम बस्ने ६७ वर्षीय सजल अचार्जी र २४ वर्षीय सागर अचार्जी मृत भेटिएका हुन्। उनीहरूले होटलमा पेस गरिएको विवरण अनुसार उनीहरू बाबुछोरा हुन्।
होटल सञ्चालक भरत शाहका अनुसार अचार्जी बाबुछोरा असोज १९ गतेदेखि होटलमा बसिरहेका थिए। उनका अनुसार उनीहरू काठमाडौंबाट आएका थिए र कलकत्ता जाने तयारीमा थिए। सोमबार दिउँसो कोठामै खाना मगाएर खाएका उनीहरूले त्यसपछि खाना मगाएका थिएनन्।
खाना खान नआएपछि होटल प्रशासनले उनीहरूको खोजी सुरू गरेको थियो। कोठामा भित्रबाट चुकुल लगाएका उनीहरू लामो समय बाहिर नआएपछि प्रहरीलाई खबर गरिएको थियो।
अर्को कोठाको भेन्टिलेसनबाट चिहाएर हेर्दा एक जना झुन्डिएको र एक जना खाटमा उत्तानो परेर सुतेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितको टोली पुगेर अनुसन्धान सुरू गरेको छ। डिएसपी लम्सालले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जानकारी दिए।
मृतक दुवै भारतीय नागरिक भएकाले प्रहरीले भारतीय महावाणिज्य दूतावासलाई घटनाबारे जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप पाठकले भारतीय नागरिक भएकाले उनीहरूको प्रतिनिधि नआउँदासम्म होटलको कोठा सिल गरेर राखिने जानकारी दिए।
प्रहरीले उनीहरूको परिवार वा आफन्तसँग सम्पर्कका लागि प्रयास गरिरहेको छ। उनीहरूको प्रतिनधि नआएको खण्डमा प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठा फोडेर शव बाहिर निकाल्ने लगायत थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।



