२०८२ आश्विन २२, बुधबार १२:१८

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग आज नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ।

उनी बयान दिन आज बिहान नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी पुगेका थिए।

हालै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्युरोलाई चिठी पठाएको थियो। एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो।

सोही पत्रबमोजिम साइबर ब्युरोले बस्नेतसँग बयान लिएको हो।

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्न भनिएको छ। साथै बस्नेत फ्यान क्लब कसको नाममा छ भन्ने विषयमा पनि अनुसन्धान गरी राय पेस गर्न पत्रमा भनिएको छ।

सुरुमा पीडित महिलाले हुलाकमार्फत एमाले नेता बस्नेतविरूद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। तर ब्युरोले जाहेरी गत भदौ ३१ गते तामेलीमा राखेको थियो। त्यसपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्। त्यही आधारमा सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध अनुसन्धान गरी राय पेस गर्न भनी साइबर ब्युरोलाई पत्र पठाएको हो।

Comment

Related News

Latest News

Trending News