जेन– जीको भदौँ २३ र २४ गतेको आन्दोलनपछि गठन भएको अन्तरिम सरकार र एमाले आमने–सामने भएसँगै देशमा मुठभेडको संकेत देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाण्डुमा शक्ति प्रदर्शन गर्ने भएको छ । भदौँ २४ गते पछि ओली दोस्रो पटक बिहीबार भक्तपुरको गुण्डुबाट सरकार बिरुद्ध खनिएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत सुरक्षाकर्मी फिर्ता बोलाउने गृहमन्त्रीले निर्णय गरेका छन् । ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने बताइएको छ । ओलीको भाषण सकिए लगत्तै गृहमन्त्री स्तरीय निर्णय भएको छ । एमाले अध्यक्ष ओलीले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगलाई नमान्ने बताउँदै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार नेपालीको नरहेको आरोप लगाए ।
सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी थालेपछि एमालेका अध्यक्ष समेत रहेका ओलीले कडा प्रतिकृया जनाएका छन् । ओली र लेखकलाई पक्राउ गर्न जेन– जीको नाममा प्रहरीमा उजुरी परे लगत्तै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पनि काठमाण्डुका मेयर बालेन साह र जेन–जीका अगुवा सुधन गुरुङ विरुद्ध पनि उजारी दिए । साह र गुरुङ विरुद्ध देशैभरि उजुरी दर्ता गर्ने युवा संघले जनाएको छ ।
ओली र लेखक बिरुद्धको उजुरीलाई प्रहरीले छानबिन आयोगमा पठाएको थियो । तर आयोगले त्यो उजुरी प्रहरीमा नै फिर्ता पठाएको छ । आयोगका अध्यक्ष कार्कीले फौजदारी अभियोगको अनुसन्धान र कारबाही प्रहरीले नै गर्ने बताइसकेका छन् । प्रहरीले कारबाहीबाट पञ्छिदै आयोगमा ओली र लेखक विरुद्धको उजुरी पठाएको थियो । अब प्रहरीमा नै फिर्ता आएको र मेयर साह र गुरुङ विरुद्धको उजुरी समेत प्रहरीमा रहेकोले दबाबमा प्रहरी देखिएको छ ।
प्रहरीले ओली र लेखक विरुद्ध पक्राउको प्रक्रिया अगाडि बढाए एमालेले त्यसको प्रतिवादमा उत्रिने देखिएको छ । ओली, लेखक लगायत पाँच जनालाई उपत्यका छाड्न छानबिन आयोगले रोक लगाएको छ । आयोगले उनीहरुसित कुनै बेला बयान लिनुपर्ने भएकाले राहदानी रोक्का गरी उपत्यका छाड्न समेत रोक लगाएको हो ।
जेन– जी अगुवाहरुको समूहले ओली र लेखकलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिँदै आएको छ । तर सुरक्षानिकायका प्रमुखहरुले मुठभेड निम्तिन सक्ने बिफ्रिंग गर्दै गृहमन्त्रीलाई पक्राउमा नजान सुझाव दिएका थिए । जेन– जीको एउटा समूहले माइती घरको निषेधित क्षेत्रमा प्रदर्शन गर्दै आन्दोलनमा दमन गर्नेहरुलाई कारबाही गर्न माग गरेका थिए ।
त्यस क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । जेन– जीले कार्यकारी राष्ट्र प्रमुखको प्रावधान राखेर चुनावमा जानुपर्ने मागलाई उठाउँदै आए पनि एमालेले संसद पुनस्र्थापनाका लागि आन्दोलन गर्ने बताएको छ । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि नेपाली कांग्रेस लगायतका दलहरुले समर्थन गर्ने विश्वास लिएका छन् ।
ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएसँगै प्रतिनिधि सभा विघटन गरिएको थियो । प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा जीवित छ । त्यसको बैठक छठपछि बोलाउने अध्यक्ष नारायण प्रसाद दाहालको धारणा रहेको बताइन्छ । तर हालसम्म त्यसको सूचना जारी गरिएको छैन ।
छठपछि दुर्गा प्रसाईँले पनि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । प्रसाईँले गर्ने आन्दोलन पनि मुठभेडको अवस्थामा जान सक्ने सम्भावना बलियो छ । यस अघि दुर्गा प्रसाईँले गरेको आन्दोलन अराजक र हिंसात्मक बनेको थियो । जेन– जी आन्दोलनको क्रममा आगजनी, तोडफोड, लुटपाटलगायतका घटनामा संलग्नहरुलाई कारबाही नगर्न गृहमन्त्रीले प्रहरीलाई दिएको लिखित निर्देशनको नेपाली कांग्रेसले विरोध गरेको छ ।
आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने कांग्रेसले माग गरेको छ । छठपछि आन्दोलन गर्ने पूर्व घोषणा अगावै मुठभेड हुने किसिमको आन्दोलन हुन सक्ने सम्भावना बढेको छ ।



