२०८२ आश्विन २५, शनिबार ०७:५०

मधेश प्रदेशका मुख्यमन्त्री (सीएम) सतीशकुमार सिंहले अन्ततः विश्वासको मत नै लिने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मात्र समर्थन रहेको सीएम सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाउन सचिवालयलाई शुक्रबार पत्राचार गरेका छन् ।

प्रदेश सभा सचिवालयलाई सिंहले पठाएको पत्रमा २८ गते मंगलबार विश्वासको मत लिने गरी बैठक बोलाउन भनेका छन् । उनले विश्वासको मत लिने अन्तिम दिन नै २८ गते रहेको छ । त्यस दिन उनले विश्वासको मत लिन नसके स्वतःपदमुक्त हुनेछन् । सभासदहरुलाई प्रदेश सभा सचिवालयले बैठक र समयबारे शुक्रबार अबेर रातिसम्म जानकारी गराएको छैन ।



नेपाली कांग्रेसका सभासद रामसरोज यादवले प्रदेश सभाबाट बैठकको जानकार नआएको बताएका छन् । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख भण्डारीलाई मुख्यमन्त्री विश्वासको मत प्राप्त गर्न असफल भएको जनाउ दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने छिन् । त्यसपछि मात्र बहुमत सभासदहरुको समर्थन सहितको दावी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले पेश गर्ने छन् ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले आफ्नै दलको निर्देशन समेत नमानेर प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । जनमत पार्टीले भदौँ २८ गते नै सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । तर सीएम सिंहले जनमतको निर्देशनलाई धोती लाउँदै सरकारलाई निरन्तरता दिएका थिए ।

सिंहलाई समर्थन दिएको नेपाली कांग्रेसले समेत समर्थन फिर्ता लिए पनि उनले राजीनामा दिएनन् । नेकपा एमालेलाई राजीनामा दिने आश्वासन दिएर अल्मलाई राखेका सिंहले सोमवार राजीनामा नदिएपछि सबै भन्दा ठूलो दल एमालेको समर्थन समेत गुमाए । नैतिक रूपमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने दलहरूको माग भए पनि सिंहले विश्वासको मत लिने आफ्नो अन्तिम अधिकार प्रयोग गरेका छन् ।

जनमत, कांग्रेस र एमालेले समर्थन फिर्ता लिइसके पनि सिंहलाई लोसपाको ८ जना सभासदको समर्थन अझै कायम रहेको छ ।लोसपाबाट एकजना मात्र रानी शर्मा शिक्षा तथा संस्कृति मन्त्री रहेकी छन् । जनमत पार्टीमा सीएम सिंह एक्लिएका छन् । जनमतको १३ जना सभासद मध्ये १२ जना सभासद सिंहको विपक्षमा मतदान गर्ने छन् ।

मुख्यमन्त्री सिंह अल्पमतमा परिसकेकाले प्रदेश सभामा आफ्ना धारणा राखेर उनी पदमुक्त हुने छन् । विश्वासको मत लिन नचाहेर उनी राजीनामा पनि दिन सक्ने छन् । सिंहले एक महिना अल्पमतमा रहेर नै कार्यकाललाई लम्बयाएका छन् । मुख्यमन्त्रीकै रुपमा उनी दशँै मनाए पनि अल्पमतमा परेकाले कुनै ठोस निर्णय भने गर्न सकेनन् ।

सिंहलाई कर्मचारीहरुलेपनि साथ नदिएपछि उनले कयौं निर्णयहरु लिन सकेनन् । सिंहलाई साथ छाडेका कांग्रेस, एमाले र जनमतले मिलेर नेकां संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् । कांग्रेस, एमाले र जनमतले ५८ जना सभासदको हस्ताक्षर सहित प्रदेश प्रमुख कार्यालयमा दावी समेत पेश गरिसकेका छन् ।

यद्यपि त्यो दाबीलाई प्रदेश प्रमुखको सचिवालयले औपचारिक रुपमा स्वीकार गरेको छैन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान नगर्दै तीन दलीय गठबन्धनको तर्फबाट दाबी पेश गरिएको पत्र सचिवालयमा दर्ता नभएको प्रेस सल्लाहकार टिकाराम उप्रेतीले पुष्टि गरेका छन् ।

यस अघि रहेको चार दलीय गठबन्धनको एउटा घटक लोसपाले मुख्यमन्त्रीमा दाबी गरेपछि त्यसलाई हटाएर नै सरकार गठनको प्रक्रियामा कांग्रेस, एमाले र जनमत पार्टी अगाडि बढेको छ । तर लोसपाका एकजना सभासदले नाम सार्वजनिक नगर्ने सर्तमा कांग्रेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताए । ‘चार दलीय गठबन्धन कायमै राखेर नयाँ सरकार गठन गर्ने सहमति भएको थियो’ उनले भने, लोसपालाई मुख्यमन्त्री नदिने भए पनि गठबन्धनबाट अलग गर्नु उपयुक्त होइन् ।

Comment


Related News

Latest News

Trending News