२०८२ आश्विन २५, शनिबार ०९:०८

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा पक्राउ परेका छन्। उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रधानाध्यापक साहले विद्यालयमा आज शनिबार हुने माध्यमिक तह ९द्वितीय० विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि अख्तियारको फन्दामा परेका हुन्।

स्रोतका अनुसार बिरगंजका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए र उनीसँगै रकम मागिएको थियो। सो शिक्षककै सूचनाको आधारमा अख्तियार आयोग, टंगाल काठमाडौँबाट खटिएको टोलीले बिरगंजस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई रंगेहात पक्राउ गरेको हो। त्यसपछि टोलीले धरहरी पुगेर प्रधानाध्यापक साहलाई समेत नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ।

रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले पनि प्रधानाध्यापक साहलाई अख्तियारको टोलीले अनुसन्धानका लागि काठमाडौं लगिएको पुष्टि गरेका छन्। उनले भने, “शिक्षक नियुक्तिका क्रममा घुस लिएको कुरा आएको छ, तर ठ्याक्कै के हो भन्नेबारे विस्तृत विवरण अनुसन्धानपछि मात्रै थाहा हुनेछ।”

Comment

Related News

Latest News

Trending News