बाराको बिश्रामपुर गाउँपालिका–५, ईटियाहीस्थित क्षेत्रबाट प्रहरीले भन्सार छली नेपालतर्फ ल्याइएका फुटबल खेल्ने जुत्ता बरामद गरेको छ।
प्रहरीका अनुसार शनिबार बिहान ९ः२० बजे मुसहर्वा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक असई सुरेन्द्र तामाङको कमाण्डमा खटिएको गस्ती टोलीले बलिरामपुर चोक नजिकै उक्त सामान बरामद गरेको हो।
भारततर्फबाट मोटरसाइकलमा फुटबल खेल्ने जुत्ता बोकेर ल्याइँदै गरेको अवस्थामा प्रहरीलाई देख्नासाथ चालकले सामान फालेर मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ।
सदर गरिएको बोरा खोल्दा सोहीमा ४८ जोर फुटबल खेल्ने जुत्ता फेला परेको र यसको अनुमानित मूल्य ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको सबै सामानलाई प्रहरी चौकी मुसहर्वा, बारामा राखिएको छ।
घटनाबारे जानकारी दिँदै बारा प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले भन्सार छलिने क्रियाकलाप विरुद्ध प्रहरीले निगरानी बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।


