२०८२ आश्विन २६, आईतवार ०७:५३

जेन– जीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयका भौतिक संरचना मरम्मत सम्भारपछि राजस्व संकलन तथा सेवा प्रवाह शुरु गरिएको छ ।

भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रङगरोगन गरी कार्यालय नियमित रूपमा सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ । गत भदौँ २३ तथा २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो ।



भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पति जलेर नष्ट भएका कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार उक्त प्रदर्शनका क्रममा कार्यालय हाताभित्र रहेका चारपाग्रे दुई वटा सवारी तथा पाँच वटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टिकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका छन् ।

क्षतिग्रस्त कार्यालय मर्मतसम्भार गरिएपछि विस्तारै सेवा सुरु गरिएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो । उहाँका अनुसार सेवाग्रही पनि राजस्व बुझाउन आउन थालेका छन् । यसैबीच सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख गुप्ताका अनुसार आव २०८१/८२ मा वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब ९० करोड ४३ लाख संकलन भएको हो । लामो समयदेखि राजस्व नतिर्ने एक सय २५ व्यावसायिक फार्मलाई कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार हालसम्म कारबाहीमा परेकामध्ये १० वटा व्यावसायिक फार्मबाट चार करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

Comment


Related News

Latest News

Trending News