२०८२ आश्विन २६, आईतवार १२:३३

रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका एक बिरामीलाई उद्धार गरेका छन्।

गरुडा ६ का बनवारी माझीका छोरा शम्भु माझी करिब तीन महिनादेखि उपचाररत रहेका वीरगंजस्थित एल.एस. न्युरो अस्पताल बिरगंजमा ३ लाख ५० हजारभन्दा बढीको बिल तिर्न नसकेर बन्धक बनेका थिए।

बिरामीको परिवारले सहयोगका लागि वडा अध्यक्ष रामबाबु चौधरीमार्फत मेयर जैसवाललाई अनुरोध गरेपछि, मेयर जैसवालले आज आईतवार अस्पतालको सम्पूर्ण बिल भुक्तानी गरी शम्भु माझीलाई उद्धार गरेका हुन्। अस्पतालबाट छुटेपछि शम्भु माझीलाई गरुडा नगरपालिकाको एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर ल्याइएको वडा अध्यक्ष चौधरीले बताएका छन्।

वडा अध्यक्ष चौधरीका अनुसार, “शम्भुको परिवार निकै विपन्न अवस्थाको हो। मेयर जैसवालले देखाएको मानवीय संवेदनशीलता साँच्चिकै प्रशंसनीय छ।”

त्यस्तै नगरप्रमुख जैसवालले भने, “जनताको दुःख–सुखमा सधैं साथ दिनु नै जनप्रतिनिधिको कर्तव्य हो। कुनै नागरिक आर्थिक अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनु हुँदैन।”

माझीको शरीरको बिभिन्न भागको हड्डी भाँचेर गम्भीर अवस्थामा एल एस न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

Comment


Related News

Latest News

Trending News