
रौतहटको गुजरा नगरपालिका–२ कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित चारजनालाई नियन्त्रणमा लिएको छ।
शनिबार (हिजो) राति करिब साढे ९ बजे, गुजरा–२ कटानी टोलमा प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका–१२ बौद्ध निवासी केशब गुरुङका छोरा २० वर्षीय कोमन गुरुङ र सिन्धुली मरिण गाउँपालिका–५ निवासी कान्छाराम घलानका छोरा २१ वर्षीय मनिष घलानलाई फेला पारी नियन्त्रणमा लिएको थियो।


खानतलासी गर्दा मनिष घलानको पाइन्टको गोजीमा आईस चुरोटको बट्टामा कालो प्लास्टिकमा बेरी लुकाइ ल्याएको ब्राउन सुगरजस्तो देखिने पदार्थ ९.३०० ग्राम फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूबाट प्राप्त बयान र थप अनुसन्धानका क्रममा प्रहरीले असोज आज आईतवार बिहान साढे ९ बजे कटानी टोलकै ४० वर्षीय संजु भन्ने ज्ञानबहादुर थिङ (मानबहादुर थिङका छोरा) र २० वर्षीय आजत अन्सारी (सर्पदिन महमदका छोरा)लाई पनि नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएस्पी रुपा लाबुङका अनुसार, संजु थिङको घर खानतलासी गर्दा स–साना २० पुरिया ब्राउन सुगरजस्तो देखिने पदार्थ ९१.८६० ग्राम, “Nitrazepam” लेखिएका १३ थान ट्याबलेट र नगद ६५हजार,१०० रुपैयाँ बरामद गरिएको छ।
डिएस्पी लाबुङका अनुसार, “बरामद लागूऔषधको प्रारम्भिक परीक्षण भइरहेको छ र पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान जारी छ।”
प्रहरीले घटनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।