जनमत पार्टी अहिले दोहोरो दबाबमा परेको छ । केही महिनादेखि विभाजनको अभ्यासमा रहेको जनमत पार्टी औपचारिक रुपमा विभाजित भएको छ ।
मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीका मुख्यमन्त्री अल्पमतमा परेर मंगलबार विश्वासको मत फेस गर्ने भएका छन् । जनमत पार्टीबाट अलग भएका उपाध्यक्ष दीपक साह सहितका नेताहरुले आइतबार निर्वाचन आयोगमा छुट्टै दल दर्ताको प्रक्रिया अगाडि बढाएका छन् । दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
साह यस अघि जनमत पार्टीको उपाध्यक्ष थिए । साह नेतृत्वको जनस्वराज पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य संलग्न रहेको दाबी गरिएको छ ।
नयाँ पार्टीमा ई.सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साह लगायत छन् । ई.यादव जनमत पार्टीको संस्थापक कोषाध्यक्ष थिए । उनले जनमतका अध्यक्ष सी.के.राउतसित हिसाब माग गर्दा अनुशासनको कारबाहीमा परेका थिए । जनमत पार्टीका अध्यक्ष राउतले नेताहरुलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टिकरण सोध्ने र निकाला गर्ने आरोप लाग्दै आएको छ ।
राउतले निलम्बन र बर्खास्त गरेकाहरु संगठित भएर नयाँ दल दर्ता गराएका छन् । जनमत पार्टीका अध्यक्ष राउतले पार्टीलाई पारिवारिक कम्पनी बनाएको आरोप लगाउँदै अलग्गिएका नेताहरुले आर्थिक अनियमितता र तानाशाही प्रवृत्तिको कारण जनमत पार्टी आउँदो चुनावमा पतन हुने दाबी गरेका छन् ।
मधेश प्रदेश सरकारको नेतृत्वबाट अपमानपूर्ण ढंगले सत्ताच्यूत हुन लागेका सतीश कुमार सिंह पनि राउतविरुद्ध लाग्ने धारणा आफ्ना सहयोगीहरु मार्फत प्रष्ट गरिसकेका छन् । आफ्नै दलका मुख्यमन्त्रीलाई हटाएर सरकारमा मन्त्री पठाउने राउतको निर्णयबाट नेता, कार्यकर्ताहरुमा असन्तुष्टि बढेको छ ।



