
रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू तलब भत्ताको मागगर्दै आन्दोलित भएका छन्।
पहिलो चरणमा शिक्षकहरुले तलबभत्ता तत्काल उपलब्ध गराउन माग गर्दै आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव लाई ज्ञापनपत्र बुझाएका छन्।

शिक्षकहरूले दसैं, दीपावली र छठ जस्ता प्रमुख पर्व नजिकिँदै गर्दा पनि तलब नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
हिम्माली माबी हीमालिबासका प्रधानाध्यापक बुनिलाल यादवले भने,“दसैंजस्तो ठूलो पर्वमा तलब नपाउँदा ठूलो आर्थिक समस्या भएको छ। दीपावली र छठ पनि नजिकिँदैछ, तर नगरपालिकाले कुनै चासो देखाएको छैन। बाध्य भएर ज्ञापनपत्र बुझाएका हौं।”
शिक्षक यादवले भने, ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत यादवले भने कि, नगरपालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता निकासा गर्न नसकिएको हो। उनका अनुसार, कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले खाता सञ्चालनका लागि अख्तियारी दिन ढिलाइ गरेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता खोल्न नसकेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले थपे, “हामी शिक्षक–कर्मचारीको तलब तत्काल उपलब्ध गराउन प्रयासरत छौं। सम्भवतः भोलिसम्म अख्तियारी प्राप्त भएपछि खाता सञ्चालन हुनेछ र तलब निकासा गरिनेछ।”
शिक्षकहरूले भने समयमै तलब नपाउँदा आफूहरू आर्थिक रूपमा निकै तनावमा परेको बताएका छन्।
यसैबीच फतुवा बिजयपुर नगरपालिकामा दीपावली छठ पर्वको मुखमा पनी सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लाभग्राहीहरु आक्रोसित बनेका छन्। राङ्गी गर्जा टोलका जेष्ठ नागरिक राम नारायण चौधरीले रातोपाटी संग कुरा गर्दै हिन्दूहरुको महान पर्व दशैं, दीपावली र लोकपर्व छठमा सामाजिक सुरक्षा भत्ताको रकमले सैयौं परिवारको गुजारा चलेको थियो। तर समयमा सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सैयौ परिवार निरास भएका छन्।