२०८२ आश्विन २७, सोमबार १२:५५

रौतहटको सदरमुकाम गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ भने चार बालिका पौडी खेल्दै बाँच्न सफल भएको छ।

मृत्यु हुनेमा ईन्दल बैठाको छोरी बर्ष १३ की आस्था कुमारी बैठा , नवल यादवको बर्ष १५ की छोरी रजनी कुमारी यादव, रुपा बैठाकी छोरी बर्ष १५ की मौसमी कुमारी बैठा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन् ।



राजदेवी नगरपालिका–८ लक्ष्मीपुर टोलका सात जना बालिकाहरू बिहान करिब पौने ११ बजेतिर घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा तैरिँदै जाँदा उनीहरू डुबेर बेपत्ता भएका थिए।

उक्त सात बालिकामध्ये चार जना सकुशल तैरिन सफल भएका थिए भने तीन जना पानीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल गौर रौतहटबाट प्रहरी निरीक्षक गोपाल सहनीको कमाण्डमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको कमाण्डमा ७ जना ९दैविक प्रकोप सामग्री सहित०, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ११ जना तथा विर दल गण पुरेनवाबाट मेजरको कमाण्डमा १९ जनाको टोली खटिएको थियो।

डुबेर बेपता भएकी तीनै जना बालिकालाई करिब पौने १२ बजे उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। अस्पतालमा १२ बजेर ९ मिनेटमा चिकित्सकले तिनै जनालाई मृत घोषणा गरेका छन्।

सकुशल रहेका बालिका

बर्ष १५ की मुस्कान कुमारी राम , बर्ष १३ की मुस्कान कुमारी बैठा, बर्ष १० की चन्द्रमुखी कुमारी राम र बर्ष १५ की सुनिता कुमारी बैठा रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिएका छन्।

घटना स्थल सशस्त्र प्रहरी बल गौर रौतहटको गार्ड कार्यालयदेखि करिब ५० मिटर पूर्वतर्फ पर्ने बताइएको छ। तीनै जनाको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।

 

Comment


Related News

Latest News

Trending News