२०८२ आश्विन २८, मंगलवार ०७:२४

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अन्तरिम सरकार गठन भए पनि अन्योलता र अनिश्चितताको भूमरीमा फसेको दाबी गरेका छन् ।

जनकपुरधाममा सोमबार जसपा नेपाल मधेश प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले काँग्रेस– कम्युनिष्टहरुको लुटतन्त्रविरुद्ध भएको जेन– जी विद्रोह पछि अन्तरिम सरकार गठन भए पनि मुलुक अनिश्चिततातर्फ धकेलिएको बताए । आवश्यकताको सिद्धान्तको आधारमा गठन गरिएको अन्तरिम सरकारको मुख्य दायित्व नै ६ महिना भित्र निर्वाचन गराउनु रहेको बताए । राजनीतिक दलहरुको सहभागिता विना निर्वाचन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष यादवले सरकारले दलहरुसंग छलफल समेत अघि नबढाएको प्रति असन्तुष्टि व्यक्त गरे ।



समयमै निर्वाचन हुने प्रति जनतामा विश्वस्त नरहेको बताए । त्यस्तै अर्को प्रसंगमा अध्यक्ष यादवले जेन– जी आन्दोलन भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था वर्तमान संविधानले सम्भव नरहेकाले दलहरुको सहकार्यमा तत्काल संविधानको पुर्नलेखन हुनु पर्ने बताए । ७५ जना युवाहरुले बगाएको रगतको सम्मानका लागि पनि संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पुर्ण समानुपाति निर्वाचन प्रणाली व्यवस्था आवश्यक रहेको उनले बताए ।

अध्यक्ष यादवले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको टिप्पणी गरे । उनले प्रदेशमा पनि प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातिक प्रदेशसभामा सहभागिताको व्यवस्था हुनुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणालीलाई खिचडी प्रणालीको संज्ञा दिए । अध्यक्ष यादवले भने, “दुनियाँका ७१ देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली छ, जहाँ उम्मेदवार र दलले पैसा खर्च गर्नुपर्ने हुँदैन ।” बहुदलीय व्यवस्थामै सुन काण्ड, ओम्नी काण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्ड जस्ता घटनाले युवाहरूमा गहिरो आक्रोश पैदा भएको उल्लेख गरे ।

उनले भने, “आक्रोश पोख्ने सामाजिक सञ्जाल पनि नियन्त्रणमा परेपछि त्यो आक्रोश अब विद्रोहमा परिणत हुँदैछ ।” जसपा नेपाल मधेश प्रदेशका प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सहअध्यक्ष रकम चेम्जोंगलगायतका वक्ताहरुले बोलेका थिए । मंगलबारसम्म चल्ने यस प्रदेश अधिवेशनले अध्यक्ष सहित ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छन् । यस अधिवेशनमा करिब पाँच सय प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News