
मधेश प्रदेश सभामा मुख्यमन्त्री (सीएम)सतिश कुमार सिंहले मंगलवार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री नियु क्त हुँदा समर्थन दिने सबै दलहरुले सोमवार सम्म साथ छाडिसकेको छ ।उनी सभासद रहेको जनमत पार्टीले सबै भन्दा पहिले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीबाट राजिनामा गर्न निर्देशन दिएको थियो । सीएम सिंहलाई दिएको समर्थन नेपाली कांग्रेस र एमालेले फिर्ता लिइसकेपनि लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले समर्थन जारी राखेको थियो ।

लोसपा संसदीय दलका नेता जयनुल राईनलेपनि सोमवार समर्थन फिर्ता लिएपछि सिंह एक्लो सीएम रहेका छन् । सीएम सिंहले विश्वासको मत लिन दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।सो बैठकको एकमात्र एजेण्डा विश्वासको मत रहेकोले सिंहले सम्बोधन गरेपछि राजिनामा दिने घोषणा गरेपछि बैठक समाप्त हुनेछ ।उनले राजिनामा घोषणा गरे नगरे त्यसको कुनै औचित्य नरहने सभासदहरुले जनाएका छन् ।
विश्वासको मतका लागि डाकिएको बैठकको सम्बन्धमा सोमवार कार्यसम्पादन समितिको बैठकपनि सम्पन्न भएको छ । विश्वासको मत मात्र एजेण्डा रहेकोले बैठकमा समान्य छलफल भएको सहभागि नेपाली कांग्रेसको प्रमुख सचेतक कुमर कान्त झाले जनाएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्रीको विश्वास मतको अध्याय समाप्त भए लगतै प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको सचिवालयलाई जानकारी गराउने छ ।त्यस लगतै प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरुलाई सरकार गठनका लागि आव्हान गर्ने छिन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि दावी प्रस्तुत गर्न तीन दलीय गठबन्धनले दावी पेश गर्ने कागजात तयार पारिसकेको सार्वजनिक भइसकेको छ । तर जनमत पार्टी विभाजन भएर निर्वाचन आयोगमा सोमवार अबेर राती जनस्वराज पार्टी दर्ता भइसकेको छ ।
निर्वाचन आयोगले जनमतका पदाधिकारी र सदस्यहरुको सनाखत गराएर राती पार्टी दर्ता गरेको छ । दीपक साहको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको पार्टीमा २७ प्रतिशत सदस्य संख्या पुर्याएको आयोगले जनाएको छ । उच्चस्रोतहरुका अनुसार जनमत पार्टीका सभासद लगायतका जनप्रतिनिधिहरुलाई दल रोज्न मंगलवारदेखि नै अवसर निर्वाचन आयोगले प्रदान गर्ने छ ।
नवगठित जनस्वराज पार्टीको उपाध्यक्ष रहेका सुरज सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका दाजु हुन् ।पार्टी रोज्ने क्रममा सतिश सिंहले जनस्वराज पार्टी रोज्ने र उनीसित कम्तिमा ६ जना सभासद जाने दावी सिंह निकटका एकजनाले गरेका छन् ।
यता नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नदिन विपक्षी दलहरुसित मुख्यमन्त्री सिंह र लोसपाका नेता एवं पूर्व मन्त्री जितेन्द्र सोनल अबेर राती सम्म छलफलमा रहेका छन् ।जनमत पार्टीका ६ जना सभासद मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ ।