लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले मधेश प्रदेशको नेतृत्वमा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताएका छन्। जनकपुरधामस्थित पार्टी कार्यालयमा मंगलबार (आज) आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पूर्वसहमतिको उल्लंघन गर्दै उपेन्द्र यादवले लोसपालाई पन्छाएको आरोप लगाए।
अध्यक्ष ठाकुरका अनुसार बाराको उपनिर्वाचनअघि नै मधेश प्रदेशको नेतृत्व लोसपाले गर्ने सर्वपक्षीय सहमति भएको थियो। “तर पछि उपेन्द्रजीले बोली फेरेर हामीलाई छल गरे,” उनले भने। सो सहमति तत्कालीन सत्ता गठबन्धनका प्रमुख घटक— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएको उनले स्मरण गरे।
“हामी अहिले पनि त्यही सहमतिप्रति प्रतिबद्ध छौं,” ठाकुरले थपे, “तर उपेन्द्र यादवले देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोलेपछि उनीहरू रिसाएका छन्।”
उनले उपेन्द्र यादवमाथि बाराको उपनिर्वाचनमा जितेन्द्र सोनलको नेतृत्वमा लोसपालाई उपयोग गरेर सत्ता समीकरण बनाएर पछि सबै सहमति तोडेको आरोप पनि लगाए। “हामी हेर-प्रतिक्षाको अवस्थामा थियौं,” ठाकुरले भने, “तर ठूला दलहरूले गरेका कदमले लोसपालाई झुक्याइएको महसुस भयो।”
साथै, अध्यक्ष ठाकुरले हालको सुशिला कार्की नेतृत्वको सरकारलाई व्यंग्य गर्दै ‘नागा बाबा’ को संज्ञा दिए। उनले भने, “नागा बाबाले शरीरभरि खरानी लगाएर सडकमा हिँड्दा जनताले ताली र नमस्कार गर्छन्, तर त्यो श्रद्धा होइन, परम्परा हो। अहिले देशमा यस्तै देखावटी र जनतालाई भ्रममा राख्ने सरकार बसिरहेको छ।”
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले मधेश र मधेशी जनताको मुद्दा फेरि उपेक्षित भएको गुनासो गरे। “मधेशको मुद्दा उठाउनेहरूकै हातबाट आज मधेश उपेक्षित भयो,” उनले कटाक्ष गरे।
कार्यक्रममा लोसपाका केन्द्रीय नेता, प्रदेश कमिटी सदस्य तथा सयौं कार्यकर्ताको उपस्थिति थियो।


