२०८२ आश्विन २८, मंगलवार १९:०३

गएको आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गएको आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार गएकाे आर्थिक वर्षमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकाेमा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।



चालू खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकाेमा ९ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकाेमा २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

गएको आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमा कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

गएको आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड र ऋण १ खर्ब २५ अर्ब ४० करोड गरी कुल १ खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ ।

घाटा बजेट परिपूर्तिका लागि गएको आर्थिक वर्षमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।

Comment


Related News

Latest News

Trending News