जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको नया नेतृत्व चयनका लागि चुनावको बलियो सम्भावना देखिएको छ
सोमबार देखि जनकपुरधाममा सुरु भएको जसपा नेपाल मधेश प्रदेशको प्रथम एकताको अधिवेशनबाट नया नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि चुनावी प्रक्रियामा नै जाने सम्भावना बढेको सहभागी प्रतिनिधिहरुले जानकारी दिएका छन् । मुख्यरुपमा अध्यक्ष पदका लागि दुई आकांक्षीविच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अध्यक्ष पदका लागि निर्वतमान अध्यक्ष बालकिशोर यादव र योगेन्द्र राय यादवविचको प्रतिस्पर्धाले ध्रुवीकरण तीव्ररुपले बढेको छ । अधिवेशनमा प्रदेश भित्रका करिब ८५ हजार क्रियाशिल सदस्य मध्येबाट करिब ४ सय ५० प्रतिनिधिको सहभागिता रहेको निर्वाचन समितिका संयोजक नवलकिशोर यादवले जनाएका छन् ।
प्रदेश निर्वाचन क्षेत्रलाई इकाई मानेर भएको प्रतिनिधि छनौटमा २ सय क्रियाशील सदस्यमा १ जना प्रदेश अधिवेशन सहभागी रहेका छन् । यसका अतिरिक्त पार्टी जिल्ला कमिटी, भातृ एवं जनवर्गीय संगठन तथा कुल प्रतिनिधिको पाँच प्रतिशत प्रदेश समितिबाट प्रतिनिधि मनोनयन हुने व्यवस्था समेत रहेको हुँदा साढे पाँच सय जति प्रतिनिधि अधिवेशनमा सहभागी भएको जनाइएको छ ।
अधिवेशनको क्रममा मृगेन्द्र कुमार सिंहको संयोजकत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल समेत गठन गरिएको छ । अधिवेशनमा आर्थिक प्रतिवेदन र संगठनको प्रतिवेदनमाथि छलफल जारी नै रहेका कारण नया नेतृत्वको प्रक्रिया बुधबार विहान बाट हुने जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामअशिष यादवले जानकारी दिएका छन् ।



