धनुषाका १२ वटा स्थानीय तहका शिक्षक साउन महिनादेखि तलब र भत्ताविहीन रहेका छन् ।
नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष सुरेश यादवका अनुसार स्थानीय तहभित्रको आन्तरिक विवाद र प्रशासनिक जटिलताका कारण शिक्षकहरूले तलब भत्ताविहीन रहेका छन् । उनका अनुसार मिथिला, क्षीरेश्वरनाथ, जनकपुरधाम, धनुषाधाम, शहीदनगर, कमला, हंसपुर, धनौजी, मुखियापट्टी मुसहरनिया, मिथिला बिहारी, औरही र जनकनन्दिनी गरी १२ वटा स्थानीय तहका शिक्षकहरू लामो समयदेखि तलब पाएका छैनन ।

अध्यक्ष यादवका अनुसार सङ्घीय सरकारले शिक्षकको तलब मासिक रूपमा पठाउने व्यवस्था गरेको भए पनि जनप्रतिनिधिबीचको आन्तरिक मतभेद र प्रशासनिक असमर्थताका कारण रकम वितरणमा समस्या आएको हो । ‘शिक्षकले पटक पटक ज्ञापनपत्र बुझाउदै आए पनि कसैले सुनुवाइ गरेको छैन,’ यादवले भने, ‘यदि दीपावलीअघि तलब उपलब्ध नगराए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।’ उनले शिक्षाको गुणस्तर र शैक्षिक वातावरणमा पनि यसले नकारात्मक असर पारिरहेको उल्लेख गर्दै शिक्षकलाई तत्काल तलब निकासा गर्न माग गरे ।
शिक्षक मात्र नभई विभिन्न स्थानीय तहका कर्मचारीहरू पनि तलबभत्ताविहीन छन् । राष्ट्रिय कर्मचारी आन्दोलन परिचालन समिति क्षीरेश्वरनाथका संयोजक विष्णुदेव यादवले महिनौँदेखि तलब नपाउँदा सामान्य जीवन सञ्चालनमा समेत कठिनाइ भएको बताए । ‘ तिहार र छठजस्ता ठूलो पर्व आउँदैछ । तर, हामीले अझै तलब पाएका छैनौं,’ उनले भने, ‘साधारण खर्च धान्न पनि कठिन भइसकेको छ ।’ जिल्लाको १८ वटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहले अहिलेसम्म आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम र बजेट पारित गर्न नगर सभा गर्न सकेका छैनन् ।
नगर सभा सम्पन्न गरेका सात स्थानीय तहमा पनि प्रशासकीय अव्यवस्थाका कारण तलब वितरणमा ढिलाइ भइरहेको छ । बजेट पारित नहुँदा शिक्षक मात्र नभई अन्य कर्मचारी, स्वास्थ्य र विकासका कार्यक्रमहरू समेत प्रभावित भएका छन् । स्थानीयवासीहरूले बजेट ढिलाइले विद्यालय सञ्चालन, पूर्वाधार निर्माण र स्वास्थ्य सेवामा समेत असर परेको बताए ।
क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामउदगार अधिकारीले नगर सभा नहुँदा तलब वितरणमा समस्या आएको बताए । ‘नगर सभा सम्पन्न नभएकाले बजेट स्वीकृति हुन सकेको छैन । त्यसकारण तलब भुक्तानी रोकिएको हो,’ उनले भने । नगर प्रमुख सुखदेव यादवले भने नगर सभा सम्पन्न गर्नका लागि छलफल भइरहेको र छिट्टै समस्या समाधान हुने दाबी गरे ।

