२०८२ आश्विन २९, बुधबार ११:४०

बारा जिल्लाको पूर्वी क्षेत्रस्थित आदर्श कोतवाल गाउँपालिकामा युवाहरूले १४ बुन्दे माग अघि सारेर सोमवार गरेको तालाबन्दी हालसम्म यथावत रहेको छ। माग पूरा नभएसम्म गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी नखोलिने घोषणा गर्दै उनीहरूले तीन दिनदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् ।

आन्दोलनकारी युवा दिवेश कुमार सिंहका अनुसार स्ट्रिट लाइट जडान, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार लगायतका माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ । उनले भने, “गाउँपालिका अध्यक्ष जवाहर साह स्वयं वार्तामा आएर माग सम्बोधन नगरेसम्म तालाबन्दी खुल्दैन।”



युवाहरूले अघि सारेका प्रमुख मागहरू यसप्रकार छन् —

– सबै वडामा स्थायी स्ट्रिट लाइट जडान

– विकास योजनामा जनसहभागिता सुनिश्चित गर्दै उपभोक्ता समिति गठन

– सामाजिक सुरक्षा भत्ता घरमै वितरण

– गाउँसभा जनसहभागितामूलक बनाउने

– किसानका बाली क्षतिपूर्ति व्यवस्था गर्ने

– वडा ५ को रुपौलिया–मेवा सडकको डुबान समस्या समाधान

– स्वास्थ्य चौकीमा औषधि अभाव अन्त्य

– विद्यालय व्यवस्थापन समिति गठन तथा अतिक्रमित विद्यालय जग्गा फिर्ता गराउने,

– मठमन्दिर र बजार व्यवस्थापन

– कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्ने

– पटेर्वा चौकमा ऋऋत्ख् क्यामेरा जडान

– पटेर्वा खेलमैदान मर्मत

युवाहरूले मंगलवार बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरू तत्काल सम्बोधन गरी शान्तिपूर्ण आन्दोलन अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका थिए  ।

स्थानिय अगुवा युवा तथा कानुन व्यवसायी प्रदीप कुशवाहाका अनुसार प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियासँग आज भएको कुराकानी सकारात्मक भएको छ । उनले भने, “यदि हाम्रो जायज माग सम्बोधन भयो भने तालाबन्दी खुल्नेछ ।”

यस अघि आज बिहान कुशवाहाले सामाजिक सञ्जाल फेसबुकमार्फत गाउँपालिका अध्यक्ष जवाहर साहका नजिकका व्यक्तिहरूबाट धम्की आएको दाबी गरेका छन् । उनका अनुसार “अध्यक्षका झोले र लठैतहरूले फोनमार्फत ताल्चा फोड्ने, कुटपिट गर्ने र कार्यालयमा आगो लगाउने धम्की दिएका छन् ।”

कुशवाहाले आफ्नो पोस्टमार्फत गाउँपालिका अध्यक्षलाई खुलेर अगाडि आउन आग्रह गर्दै भनेका छन् — “गाउँपालिका अध्यक्षज्यू, बाहिर निस्कनुस् र युवाहरूका जायज माग सम्बोधन गर्नुस् । धम्की र डर देखाएर समस्या झन् बढाउने प्रयास नगर्नुस् ।

त्यससँगै उनले अध्यक्ष साहलाई भनेका छन् —“यदि साँच्चिकै अस्पतालमा भर्ना हुनुभएको हो भने, प्रेस विज्ञप्ति जारी गरेर आफ्नो स्वास्थ्य अवस्था सार्वजनिक गर्नुस् ।

कुशवाहाले आन्दोलन शान्तिपूर्ण तर दृढ रूपमा अघि बढ्ने बताएका छन् । उनका अनुसार, “हामी गाउँपालिकाका जनता हौं, तपाईँ हाम्रो अभिभावक हो । हाम्रो जायज माग पूरा भयो भने तालाबन्दी पनि तुरुन्त खुल्नेछ ।”

आन्दोलनरत युवाहरूले धम्कीबारे स्थानीय प्रशासन र प्रहरी निकायलाई पनि जानकारी गराउने तयारी गरेका छन् ।

कुशवाहाले अन्त्यमा पत्रकार तथा सञ्चारकर्मीहरूलाई सत्य घटनाको निरन्तर प्रसारण र जनताको आवाज उठाइरहेकोमा धन्यवाद व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष साह लाई फोन गर्दा उनले रिसिभ गरेनन्।

Comment


Related News

Latest News

Trending News