२०८२ आश्विन ३०, बिहीबार ०७:५०

मधेश प्रदेश सरकारको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता जितेन्द्र सोनार(सोनल) नियुक्त भएका छन् ।

मुख्यमन्त्रीका लागि बिहान साढे १० बजे दाबी पेश गरेका सोनल साँझ साढे ६ बजे मुख्यमन्त्री बनेका हुन् । विहीवार बिहान नवनियुक्त मुख्यमन्त्री सोनलले सपथग्रहण गर्ने छन् । उनीसँगै केही मन्त्रीहरुलेपनि सपथ लिने बताइएको छ ।



मुख्यमन्त्री सोनलले जनाए अनुसार सानो आकारको मन्त्रिमण्डल गठन हुने केही मन्त्रीहरुको सपथ पनि हुने छ । सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हस्तान्तरण गरिन् । उनलाई जसपा नेपालको १९, जनमतको १३, माओवादीको ९ , लोसपाको ८ र नेकपा एसको ७ जनागरि ५६ जनाको समर्थन प्राप्त रहेको छ । सरकार गठनका लागि ५४ जना सभासद अनिवार्य रहेको छ ।मधेश प्रदेशमा १ सय ७ जना सभासद छन् ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट निर्वाचित भएका सोनल लोसपाको सभासदको हैसियतमा नै मुख्यमन्त्री बनेका छन् । मधेश प्रदेशको पहिलो सरकारमा सोनल तीन वर्ष भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए ।त्यसपछि संघीय सरकारमा जसपा नेपालको नेपाली कांग्रेससित सहकार्य हुँदा प्रदेशमा लोसपाका मन्त्रीहरुलाई हटाइएको थियो ।

मधेश प्रदेशको ८ वर्षे कार्यकालमा सोनल चौथो मुख्यमन्त्री बनेका हुन् ।मधेश प्रदेशको प्रथम मुख्यमन्त्री बनेका जनता समाजवादी पार्टी( जसपा)नेपालका मो.लालबाबु राउत पाँच वर्षे कार्यकाल पूरा गरेका थिए । दोस्रो प्रदेश सभाको निर्वाचन सम्पन्न भएको तीन वर्षमा तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् ।

मधेश प्रदेशको दोस्रो मुख्यमन्त्री जसपा नेपालकै सरोज कुमार यादव, तेस्रो मुख्यमन्त्री जनमत पार्टीका सतीश कुमार सिंह र चौथो मुख्यमन्त्री लोसपाका सोनल भएका छन् । जनमत पार्टीका सतीश कुमार सिंहलाई समर्थन गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले समर्थन फिर्ता लिएपछि उनी अन्तिम समयमा गत मंगलवार राजिनामा दिएका थिए ।जनमत पार्टीले उनलाई फिर्ता बोलाएर सरकारबाट समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री नियुक्तिको क्रममा प्रदेश प्रमुखको कार्यालय परिसरमा विवाद भएको थियो ।

जनमत पार्टी विभाजन भइसकेकोले संसदीय दलको नेता महेश प्रसाद यादव नरहेको एमाले र कांग्रेसले गरेको थियो ।झण्डै डेढ घण्टा नियुक्ति रोकेकी प्रदेश प्रमुख भण्डारीले सुरक्षाका लागि थप सेना परिचालन गराएकी थिइन् । मधेश भवनमा रहेको प्रदेश प्रमुख निवास परिसरमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु भन्दा सेनाको उपस्थिति बाक्लो थियो ।

जनमत पार्टी दलका नेता यादवले यस अघि मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई समर्थन गरेका थिए ।तर उनी मुख्यमन्त्री नियुक्त नहुँदै जनमत गठबन्धन फेरेर लोसपाका नेता सोनललाई समर्थन गर्न पुगे । एमाले सहित नेपाली कांग्रेसको नेतृत्वमा मधेश प्रदेशमा बन्न लागेको सरकारलाई रोक्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सोनललाई मुख्यमन्त्रीमा अगाडि बढाए आफ् नो समर्थन रहने वताएपछि २४ घण्टा भित्र गठबन्धनमा कांग्रेस एमाले र जनमतको गठबन्धनमा भूईँचालो गएको थियो ।

नेपाली कांग्रेसले जनमतलाई अर्थ सहित पाँच मन्त्रालय दिने प्रस्ताव गरेपनि गठबन्धन जोगिन सकेन् ।जसपाका अध्यक्ष यादवले एमाले र कांग्रेसलाई सरकार बनाउन नदिने अडान लिएर ठाकुरलाई जनमतका अध्यक्ष सी के राउतसित संवाद गराएका थिए । जनमत पार्टी ढुलमुल भइरहेपनि जसपा नेपालले कांग्रेसको मुख्यमन्त्रीको अफरलाई अस्वीकार गरेका थिए ।

सरकार गठनमा कांग्रेस पछाडि पर्नुको एकमात्र कारण एमालेको समर्थन रहेको छ । कांग्रेसलाई स्वीकार्न तयार रहेका मधेश केन्द्रित दलहरुले एमालेसितको सहकार्यमा सहमत थिएनन् ।माओवादी र नेकपा एसले एमालेसित कुनै प्रकारको सहकार्य नगर्ने अडान लिएकाले जसपा नेपाललाई एमालेसँगै कांग्रेसलाई सरकार भन्दा बाहिर राख्ने दबाब थियो । मधेश प्रदेश सरकारमा एमाले र कांग्रेस पटक–पटक सहभागी भएपनि नेतृत्वगर्ने अवसर पाएको छैन् ।

प्रदेशमा सबै भन्दा ठूलो नेकपा एमाले , दोस्रो ठूलो दल नेपाली कांग्रेस रहेको छ ।तेस्रो ठूलो दल जसपा नेपाल, चौथों ठूलो दल जनमत पार्टीले सरकारको नेतृत्व गरिसकेको छ ।छैठौ वरियताको दल लोसपालेपनि सरकारको नेतृत्वगर्ने अवसर पाएको छ ।

जसपालाई ४ र लोसपालाई १ मन्त्रालय

लोसपा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी(जसपा)नेपालले ४ मन्त्रालय पाउने भएका छन् ।

जसपा नेपालको प्राथमिकतामा भौतिक पूर्वाधार विकास मन्त्रालय परेको छ ।अर्थ मन्त्रालय सहित जनमतले ४ मन्त्रालयमा दावी गरेपनि ३ मन्त्रालय निश्चित रहेको बताइएको छ । माओवादी केन्द्रलाई २ , नेकपा एस र लोसपाले १–१ मन्त्रालय पाउने बताइएकोछ ।यद्यपि कुन दलले कुन मन्त्रालय पाउने विषयमा टुंगो लाग्न बाँकी रहेको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जनाएका छन् ।

२४ घण्टा नबित्दै सिंहले पार्टी छाडे

मुख्यमन्त्रीबाट हटेको २४ घण्टा नबित्दै सतीश कुमार सिंहले जनमत पार्टी परित्याग गरेका छन् ।

जनमतबाट विभाजित भएर गठन भएको जनस्वराज पार्टीलाई सिंहले रोजेका छन् ।उनीसँगै बुधवार त्रिभुवन साहलेपनि जनमत छाडेर र जनस्वराज रोजेका छन् । प्रादेशिक निर्वाचन कार्यालयमा सिंह र साह दल त्याग गरेको सनाखत गर्न जाँदा जनमत पार्टीका नेता, कार्यकर्ताहरुले अवरोध गरेका थिए । जनमत पार्टीबाट कम्तीमा ६ जना सभासद सहित सिंह निस्कने दावी गरिएको थियो ।तर २ जना मात्र पार्टी छाडेका छन् ।मधेश प्रदेशमा अब जनस्वराज पार्टी समेत अस्तित्वमा आएको छ ।

Comment


Related News

Latest News

Trending News