जनता समाजवादी पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री प्रदीप यादवले अन्तरिम सरकारले तोकेको मितिमा हुन लागेको निर्वाचनमा जसपा पूर्ण रूपमा सहभागी हुन तयार रहेको स्पष्ट बताएका छन् ।
जसपाका उपमहासचिवसमेत रहेका यादवले देशको राजनीतिक परिदृश्यमा हाल दुई धारणा रहेको उल्लेख गर्दै भने, “केही दलहरू संसद् पुनस्र्थापनाको पक्षमा छन्, तर जसपा स्पष्ट रूपमा निर्वाचनको पक्षमा छ र हामी त्यसैअनुसार अघि बढिरहेका छौं।” उनले पार्टीका कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै सरकारलाई पाँच महिनाभित्र निर्वाचन सम्पन्न गर्न इमानदारीपूर्वक काम गर्न आग्रह गरे। यादवले भने, “एक महिना बितिसक्यो, अब सरकारले बाँकी पाँच महिनामा सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्छ।”

पूर्व मन्त्री यादवले जेन–जी आन्दोलनको सम्मानमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै उक्त सरकारको मुख्य उद्देश्य ताजा जनादेश प्राप्त गर्नु रहेको बताए। उनले आगामी ६ महिनाभित्र निर्वाचन गराउन सरकारलाई केन्द्रित हुन र सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर शान्तिको मार्गमा अघि बढ्न सुझाव दिए।
उनले भदौ २३ गतेको जेन–जी आन्दोलनमा १९ जनाको ज्यान गएपछि आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाए। यादवका अनुसार भदौ २४ गते आन्दोलनका अगुवाहरूले घर फर्किन आग्रह गरे पनि घरमा भएको आगजनी अराजक तत्त्वहरूको नियोजित काम थियो। पूर्व मन्त्री यादवले नेपालको लोकतन्त्र जोगाउन नेपाली सेनाको भूमिकाको प्रशंसा गर्दै भने, “नागरिक सरकार गठनमा सेनाको सहयोग ऐतिहासिक रह्यो।”
उनले जेन– जी आन्दोलनको नाममा मधेस र सङ्घीयतामाथि भइरहेको प्रहारप्रति सचेत रहन मधेसी जनतालाई आग्रह गरे। उनले भने, “सङ्घीयताले हामीलाई पहिचान दिएको छ, यसको रक्षा गर्न सबै मधेसी जनता एकजुट हुनुपर्छ।” यादवले मधेस आन्दोलनले देशको राजनीतिक चेतनामा ल्याएको परिवर्तन स्मरण गर्दै ऋतिक रोशन घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे।
जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला समितिको आयोजनामा वीरगञ्जमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष तथा बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीको सभापतित्वमा सम्पन्न भेलामा पार्टीका नेता– कार्यकर्ताहरूले आगामी निर्वाचनका लागि आफ्नो तयारी र एकताको प्रदर्शन गरेका छन्।
भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा जसपाका विभिन्न तहका पदाधिकारी र स्थानीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले वीरगञ्जमा पार्टीको संगठनिक बल अझ सुदृढ भएको संकेत गरेको छ ।

