२०८२ आश्विन ३१, शुक्रबार ०७:१७

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री (सीएम)जितेन्द्र सोनलले विहीवार सपथग्रहण गरेसँगै पदबहाली गरेका छन् । सोनलले २ जना मन्त्री पनि बहाल गरेका छन् ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा एसका सभासद कनिष पटेलले सपथ लिएका छन् ।उनीहरुको विभाग नतोकिएकोले मुख्यमन्त्री कार्यालयमा नै बसेका छन् । मुख्यमन्त्रीमा सोनल नियुक्त भएदेखि जसपाका सभासद र नेताहरु निकै उत्साहित देखिएका छन् ।यद्यपि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का केही सभासद र नेताहरु असन्तुष्ट देखिएका छन् ।



असन्तुष्टहरु मुख्यमन्त्रीको दाबी पेस, नियुक्त र सपथग्रहणमा समेत देखिएनन् । जसपा नेपाल र लोसपामा रहेका पूर्व नेपाल सदभावना पार्टीका सभासद र नेताहरुले सरकार गठनमा खेलेको भूमिकाको परिणाम पक्षमा आएदेखि नै खुसी भएका छन् । जनता समाजवादी पार्टी( जसपा)नेपाल, माओवादी केन्द्र र लोसपाले मन्त्रीको टुंगो लगाउन सकेको छैन् ।

जसपा नेपालले भौतिक पूर्वाधार, खानेपानी, उर्जा तथा सिंचाई, स्वास्थ्य र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री चाहेको छ । जनमतले अर्थ, खानेपानी, उर्जा तथा सिंचाई समेत ४ वटा मन्त्रालयमा दाबी गरेको छ ।दलका नेता यादव बिना विभागीय मन्त्री बनेपनि अन्य मन्त्रीहरुको टुंगो लागेको छैन् ।

जनमतमा मन्त्री नहुनेहरुले जनस्वराज पार्टी रोज्ने जोखिमको कारण अन्य सभासदहरुलाई मन्त्रीको आश्वासन दिएको छ । माओवादीमा मन्त्री छान्न पनि सकस छ ।

माओवादीले २ वटा मन्त्रालयमा दाबी गरेको छ ।तर मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।लोसपा र नेकपा एसको भागमा १–१ मन्त्रालय परेको छ । मधेश प्रदेश कृषि प्रधान र शिक्षामा अत्यन्त पिछडिएको भए पनि भूमि व्यवस्था, कृषि तथा सहकारी र शिक्षा तथा संस्कृति मन्त्रालयका लागि दलहरुले चासो नै देखाएको छैन् ।साना दलहरुको भागमा त्यस्ता मन्त्रालयहरु पर्ने छ ।

मुख्यमन्त्री सोनलले सरकार गठन गर्न ५७ जना सभासदको हस्ताक्षर पेस गरेका छन् ।त्यसमा जसपा नेपालका १९, जनमतका १३, माओवादीका ९, लोसपाका ८ , नेसपाका ७ र नागरिक उन्मुिक्त पार्टी( नाउपा)का १ जना छन् । जनमत पार्टी विभाजित भएर जनस्वराज पार्टी दर्ता भएपछि जनमतबाट निवर्तमान मुख्यमन्त्री सतीश कुमार सिंह र त्रिभुवन साहले जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् ।जसपाका १ जना सभासद सरोज सिंह(कुशवाहा)माथि विशेष अदालतमा विहीवार मुद्दा दर्ता भएकोले उनी निलम्बन भएका छन् ।

मुख्यमन्त्रीको पक्षमा ५४ जना सभासद कायम रहेका छन् ।मधेश प्रदेशमा सरकार गठनका लागि न्यूनतम ५४ जना सभासद चाहिन्छ । विपक्षीहरु सशक्त र सक्रिय रहेकाले मुख्यमन्त्रीले विश्वासको मत लिँदा अत्यन्त सचेत रहनुपर्ने देखिन्छ ।१ जना मात्र अनुपस्थित भए बहुमत नपुग्न सक्छ ।

मधेश प्रदेशमा जसपा नेपालले पहिलो पूरा र दोस्रो कार्यकालको डेढ वर्ष सरकार चलाएको छ ।जनमतले १६ महिना सरकार चलाउँदा पार्टी नै बिभाजन भएको छ ।लोसपाको कार्यकाल प्रारम्भ भएको छ ।संघीय संसदमा ठूला दल रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी , नेकपा एस लगायतका दलहरुले मधेश प्रदेशमा हालसम्म सरकारको नेतृत्व गर्न पाएको छैन् ।

कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव मुख्यमन्त्रीको दौडमा निश्चित रहे पनि अन्तिम समयमा जनमत पार्टीले खेमा परिवर्तन गरेपछि कांग्रेस, एमाले मधेश प्रदेशमा सोनल चौथों मुख्यमन्त्री हुन् ।जसपा नेपालका लालबाबु राउतले पहिलो पूर्ण काल चलाएका थिए ।दोस्रो कार्यकालको ३ वर्षमा तेस्रो मुख्यमन्त्री सोनल बनेका छन् ।

मधेश आन्दोलनबाट खारिएका सोनल पहिलो कार्यकालमा तीन वर्ष भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए । लोसपामा दलको नेता समेत हुन नदिएको सोनल मुख्यमन्त्री नै बनेका छन् ।पार्टीमा सोनलका बिरोधीहरु निकै बलियो रहेपनि अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेकाले क्षति हुने सम्भावना छैन् ।पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी निकटका जयनुल राइन अब मन्त्री बन्ने बलियो सम्भावना रहेको छ ।उनी दलका नेता पनि हुन् ।

Comment


Related News

Latest News

Trending News