
गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरुले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएको बताउनुभएको छ ।
शुक्रबार ७० औ प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरुले सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान लगाएत निजी सम्पतीमा तोडफोड, आगजनी तथा लुटपाट गरेर आन्दोलनलाई नै हिंसात्मक बनाएको बताउनुभएको हो ।

प्रहरीमाथि आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाटपछि नागरिक सहभागितामा भएको मर्मत र पुनस्र्थापनाले प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्न सत्य स्थापीत भएको उहाले बताउनुभयो । गृहमन्त्री अर्यालले सरकार सदैव प्रहरीको साथमा रहेकाले उच्च मनोवलका साथ नागरिकको चाहनाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाले मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको र यसैको जगमा कानूनी शासन, मानवअधिकारको संरक्षण र अन्य बिकासका आधारहरु निर्माण हुने गरेको जिकिर गर्नुभयो । प्रविधिसंग प्रभावकारी मिश्रण गरि नयाँ प्रकारका अपराधका घटनालाई न्यूनिकरण गर्न प्रहरी तयार हुनुपर्ने उहाको भनाइ छ ।
त्यस्तै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले परिवर्तनको हालको परिस्थीति र आगामी दिनहरुमा समेत उत्पन्न हुने सुरक्षा चूनौतिको सामना गर्दै आमनागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवसायीक रुपमा सक्षम रहेको बताउनुभयो । जेनजी युवाहरुको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायीत्व र पारदर्शीताका साथै सहज सार्वजनिक सेवाको माग आम जनताको समेत माग भएकाले नेपाल प्रहरी त्यस्ता मागका बिषयमा बिगतदेखि नै संवेदनशील रहदै आएको धारणा राख्नुभयो ।
आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणले प्रहरीबिरुद्ध आक्रोश र अपराध बढेको लागेतापनि भ्रमको पर्दा च्यातिएको उहाले बताउनुभयो ।
उहाले प्रहरी कार्यालयको पुनस्र्थापनामा जनताले गरेको सहयोग सराहनीय भएको भन्दै क्षतिग्रस्त भएका ४६५ मध्ये ४०१ कार्यालयहरु सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिनुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । त्यस्तै अमर प्रहरीका छोराछोरीलाई प्रहरी छात्रवृत्ति प्रदान गरिएको थियो ।