प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि शान्तिपूर्ण तवरले लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको परिस्थीतिमा आफुले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन गरेर लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रीत रहेको उल्लेख गर्नुभयो । अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमशः साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावनाको पनि खोजी गरिरहेको प्रधानमन्त्री कार्कीले बताउनुभएको थियो । लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाले निर्वाचनको यात्रामा मित्रराष्ट्रहरुको निरन्तर सद्भाव र समर्थन हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिनुभयो । त्यस्तै परराष्ट्र सम्बन्ध र नीतिका बारेमा पनि प्रधानमन्त्रीले जानकारी गराउनुभएको उहाले बताउनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविनका लागि न्यायीक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउदै भ्रष्टाचारका बिषयमा पनि समेत विश्वसनीय, निष्पक्ष अनुसन्धान सुरु गर्ने बताउनुभएको थियो ।
उहाले आन्दोलनको क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनस्र्थापना गर्नका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेकाले विकास साझेदारबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।



