
आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई २ सय १२ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो । नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए । यस्तै लाेकेश बमले ३९, कप्तान राेहित पाैडेलले २१ रन बनाए । सामाेआका ४ जना बलरले १/१ विकेट लिए ।

प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले आज सामोआलाई हराएमा उपाधि जित्नेछ । नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सामोआ ४ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । यस्तै आज भएको खेलमा जापानलाई हराउँदै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ ।
नेपाल, ओमानसहित ५ खेलमा ६ अङ्क जोडेको यूएई सुपर–सिक्समा पुगेका छन् । कतार, जापान र सामोआ अगाडि बढ्न सकेनन् । योसँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।