
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताउनुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद बिघटन गर्ने केपी ओलीको समूहले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताउनुभएको हो ।

उहाँले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताउनुभयो । घोषित निर्वाचनलाई भाड्ने काम कसैले नगर्न उहाले चेतावनी दिनुभयो । प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गर्नुभयो । उहाले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफुलाई रहेको बताउनुभयो । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताउनुभयो । उहाँले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिनुभयो ।
प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गर्नुभयो ।