२०८२ कार्तिक २, आईतवार ०७:३०

धनतेरस पर्वको पूर्वसन्ध्यामा जनकपुरधाममा शुक्रबार साँझ व्यवसायी र प्रहरीबीच झडप भए पनि शनिबार भने सर्वसाधारण उपभोक्ताहरुले सौहार्दपूर्ण वातावरणमा किनमेल गरेका छन् ।

शुभ दीपावली पर्व हुनु दुई दिन अघि हुने धनतेरस पर्वको दिन जनकपुरधामको बजारमा निकै चहलपहल बढेको देखिएको छ । यसवर्ष धनतेरस शनिबार र आइतबार पनि हुने भएपछि सर्वसाधारण उपभोक्ताहरुले आइतबार पनि बजार गर्न पाउने भएका छन् । यसपटक दुई दिन धनतेरस हुने भएपछि सर्वसाधारणहरुले शनिबार बजार घुमफिर गरी आइतबारसम्म किनमेल गर्ने भएपछि व्यापक भीड छ ।

धनतेरसको पहिलो दिन नयाँ सामान किनेर लक्ष्मी पूजाका दिन पूजा अर्चना गर्ने प्रचलन छ । धार्मिक विश्वास अनुसार धनतेरसका दिन बहुमूल्य धातु किनेर पूजाआजा गरेमा धन सम्पत्तिमा वृद्धिसंगै जोगिने विश्वास गरिन्छ । सर्वसाधारण उपभोक्ताहरूले सुनचाँदीको सट्टा तामाबाट बनेका आरती थाली, कलश, दियो, करुवा, पानससमेत किन्ने गरेका छन् ।

यसका अतिरिक्त नुन, कुचो, धनीया, वेसारलगायतका सरसामान किनमेल गरी घर भित्र् याउने परम्परा छ । यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिरले पूजा घरसमे सिंगारेर झिलिमिली वत्ति, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन् ।

धनतेरस तिहारका सरसामानले भरिभराउ गरिएका पसलहरुमा सुरु भएको ग्राहकहरुको भीड राती ११ बजेसम्म रहने व्यापारीहरु बताउँछन् । धनतेरसका दिन पूजापाठ गरिसके पछि साइत हेरेर समयानुकुल नयाँ सामान किनमेल गरी हिन्दु परम्परा रहेको पण्डित रुपकान्त मिश्रको भनाइ छ । किन मनाइन्छ धनतेरस प्रत्येक वर्ष यमपञ्चकको पहिलो दिन धनतेरस पर्व मनाइन्छ ।

यो दिनमा सुनचाँदीका गरगहना र भाँडाकुँडा किन्नु राम्रो मानिन्छ । धनतेरसका दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणाले बढ्छ भन्ने मान्यता छ । विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो । त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ । यसलाई धनतेरस भन्नुको पछाडि दुईवटा मान्यता रहेको छ ।

भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ । बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे । बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे ।

शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे । त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए । तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने संकल्प गरे । यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए । वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो ।

त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए । त्यसपछि वामनले बली राजासँग तीन पाइला जमिन मागे । तीन पाइलामा उनले तीनै लोक ओगटिदिए, सबै जमिन र सम्पत्ति आफ्नो बनाए र देवताको लुटिएको धन फिर्ता गरिदिए । यो क्रममा देवताहरूले यसअघि लुटिएकोभन्दा १३ गुणा बढी धन फिर्ता पाएको भन्ने मान्यता छ ।

सोही कारण आजको दिनमा कुनै सामान किन्नेले राम्रो प्रतिफल पाउँछ भन्ने जनविश्वास रहँदै आएको छ । अर्को मान्यता अनुसार समुन्द्र मन्थनको समयमा भगवान् धनवन्तरीले हातमा अमृत कलश लिएर प्रकट भएका थिए । धनवन्तरीलाई पनि विष्णुको अवतार मानिन्छ । संसारमा चिकित्सा विज्ञानलाई विस्तार तथा प्रचारप्रसारका लागि आजकै दिन विष्णुले धनवन्तरीको अवतार लिएको मान्यता छ ।

यसैले आजको दिनलाई धनतेरस भनिन्छ । पण्डित गणेश झाले दिएको जानकारी अनुसार मुख्यरुपमा त्रयोदशी तिथिका आधारमा शनिबार नै धनतेरस परे पनि आइतबार करिब डेढ बजे दिउँसोसम्म बजारमा नयाँ सामग्री किनमेल गर्ने समयावधि रहेको छ ।

Comment


Related News

Latest News

Trending News