बाराको आदर्श कोतवाल गाउँपालिकामा जेन– जी युवाहरूले १४ बुँदे माग अघि सारेर शुरु गरेको तालाबन्दी जारी नै रहेको छ । आठौँ दिन वितिरहँदा पनि तालाबन्दी यथावत नै रहेको बताइएको छ ।
मागहरू पूरा नभएसम्म तालाबन्दी नखोल्ने घोषणा गर्दै आन्दोलनकारी युवाहरूले शान्तिपूर्ण विरोध जारी राखेका बताइएको छ । गत बिहीबार युवाहरूले जिल्ला सदरमुकाम कलैयामा शान्तिपूर्ण प्रदर्शन र बार्ताको सहज बाताबरण मिलाउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

आन्दोलनका अगुवा दिवेश कुमार सिंहका अनुसार, सो प्रदर्शनपछि गाउँपालिकाका केही कर्मचारीहरूसँग सकारात्मक वार्ता भए पनि गाउँपालिका अध्यक्ष जवाहर साह र उपाध्यक्ष दुबै सम्पर्कविहीन भएपछि समस्या समाधान हुन सकेको छैन । “अध्यक्ष स्वयं वार्तामा आएर माग सम्बोधन नगरेसम्म तालाबन्दी खुल्दैन,” सिंहले बताए ।
युवाहरूले अघि सारेका प्रमुख मागहरूमा — सबै वडामा स्थायी स्ट्रिट लाइट जडान, विकास योजनामा जनसहभागिता सुनिश्चित गर्दै उपभोक्ता समिति गठन, सामाजिक सुरक्षा भत्ता घरमै वितरण, गाउँसभा जनसहभागितामूलक बनाउने, किसानका बाली क्षतिपूर्तिको व्यवस्था, वडा नं. ५ को रुपौलिया–मेवा सडक डुबान समस्या समाधान, स्वास्थ्य चौकीमा औषधि अभाव अन्त्य, विद्यालय व्यवस्थापन समिति गठन तथा अतिक्रमित विद्यालय जग्गा फिर्ता, मठमन्दिर र बजार व्यवस्थापन, कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्ने, पटेर्वा चौकमा क्यामेरा जडान र पटेर्वा खेलमैदान मर्मत लगायतका मागहरू छन् ।
स्थानीय अगुवा तथा कानुन व्यवसायी प्रदीप कुशवाहाका अनुसार युवाहरूका मागहरू “पूर्णरूपमा जायज” भएकाले तत्काल सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।
यसबीच, आन्दोलन सातौँ दिनमा प्रवेश गरेको छ। युवाहरूले अब आन्दोलनलाई अझ सशक्त बनाउँदै हरनैया चौकबाट आन्दोलनको पहिलो चरण सुरु गर्ने घोषणा गरेका छन् । “हाम्रो माग अब केवल मागमा सीमित छैन, गाउँपालिका अध्यक्षको राजीनामा हाम्रो मुख्य माग बनेको छ,” आन्दोलनकारी युवाहरूले भनेका छन् । गाउँपालिका अध्यक्ष जवाहर साहलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ ।

