नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभित्रका हवाई यात्रुका लागि छुटको नयाँ व्यवस्था लागू गरेको छ । प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा आन्तरिक हवाईसेवामा ज्येष्ठ नागरिक र अशक्त यात्रुका लागि न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरिएको उल्लेख छ ।
प्राधिकरणका अनुसार ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकले अब आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, शारीरिक रूपमा अशक्त तथा फरक क्षमताका व्यक्तिलाई पनि हवाई भाडामा समान छुट लागू गरिने भएको छ । प्राधिकरणले सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरूलाई यो व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।


विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरूले आजैदेखि यो व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ।” प्राधिकरणले सबै कम्पनीहरूलाई सूचना प्रवाह गरी छुट सुनिश्चित गर्न आह्वान गरेको छ ।
महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले आन्तरिक उडानमा विशेष वर्गका यात्रुका लागि छुट व्यवस्था तत्काल प्रभावले लागू गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । यस कदमले हवाई सेवामा पहुँच विस्तार हुने र सबै वर्गका नागरिकलाई सुविधाको अनुभूति हुने अपेक्षा प्राधिकरणले व्यक्त गरेको छ ।


