२०८२ कार्तिक ३, सोमबार ०७:४५

प्रधानमन्त्री सुशीला कार्कीले सरकार आफ्नो जिम्मेवारीमा प्रष्ट र प्रतिबद्ध रहेको बताएकी छन्।

यमपञ्चक, म्ह पूजा, नेपाल संवत र छठको अवसरमा सोमबार भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सरकार आफ्नो जिम्मेवारीमा प्रष्ट रहेको बताएकी हुन्।

‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौं,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्।

उनले चाडपर्वको अवसरमा शुभकामना ज्ञापन गर्दै यस वर्ष परिवर्तनको असीम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेका बताइन्।

‘भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ। यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार पनि भएको छ,’ उनले भनिन्।

सरकार ६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेका पनि उनले बताइन्।

‘ यसका निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले कुनै पनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुन आह्वान पनि गरेकी छन्।

‘शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढौं,’ उनले भिडिओ सन्देशमा भनेकी छन्।

Comment

Related News

Latest News

Trending News