नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङका पछिल्ला क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले प्रहरी प्रमुखको व्यवहारले जिल्लामा कार्यरत पत्रकारहरूको मनोबल गिराउने र पत्रकार तथा नागरिक समाजका अगुवाहरूलाई अनावश्यक निगरानी तथा प्रताडना गर्ने काम भइरहेको भन्दै तत्काल सच्याउन माग गरेको छ।

महासंघले आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सम्बन्धित निकायहरूमा ज्ञापनपत्र पठाएको जनाएको छ। विज्ञप्तिमा उल्लेख छ कि प्रहरी प्रमुख तामाङमाथि शान्ति सुव्यवस्था कायम राख्नु भन्दा अवैध धन आर्जन गर्ने भन्ने विषयमा प्रशस्त सूचना सार्वजनिक भएको छ र पत्रकारहरूले यस्ता विषयमा प्रश्न उठाउँदा दुश्मनी र प्रताडना गर्ने खालको व्यवहार गर्न थालेको दाबी गरिएको छ।
विशेष गरी नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीमाथि निगरानी राखेर मानसिक प्रताडना गरिएको घटनाले सम्पूर्ण सञ्चारकर्मीलाई दुःखी बनाएको महासंघले जनाएको छ। एक सामान्य जाहेरीलाई आधार बनाई अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक प्रताडना गरिएको र जाहेरीकर्ताको पक्षमा कार्य गर्दै अग्रसर भएको आरोप लगाइएको छ।
महासंघले दशैंको दुई दिनअघि प्रकाशित समाचारमा प्रहरी प्रमुख तामाङले ुतस्करसँगको मिलिभगतुसम्बन्धी समाचारको बदला लिन खोजेको स्पष्ट देखिएको उल्लेख गरेको छ। यस घटनाप्रति विरोध स्वरूप पत्रकारहरूले ७०औं प्रहरी दिवस विशेष कार्यक्रममा अनुपस्थित भई सांकेतिक विरोध जनाएका थिए।
पत्रकार महासंघले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्दै निर्भीक पत्रकारिता गर्न सकिने वातावरण बनाउन सम्बन्धित सबै निकायलाई विनम्र अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ। महासंघका सचिव पुष्पराज खतिवडाले हस्ताक्षर गरेको विज्ञप्ति प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बोधार्थका लागि पठाइएको छ।



