रौतहट प्रहरीले सामाजिक सञ्जालमार्फत चरित्र हत्या, धम्की जस्ता आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ टेकानटोल निवासी अन्दाजी २५ बर्षीय सोम गुरुङ रहेका छन्। उनलाई आइतवार साँझ बसन्तपुर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गुरुङले चन्द्रपुर–४ का निर्माण व्यवसायी तेजविक्रम कार्कीलाई आफ्नै निवासमा गएर मार्ने धम्की दिँदै सामाजिक सञ्जालमार्फत भौतिक आक्रमण गर्ने चेतावनी पोष्ट गरेपछि रौतहट जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो।
गुरुङ यसअघि पनि कार्कीलाई अवैध रूपमा रकम असुली गर्ने प्रयत्न गर्दै पटक–पटक धम्की दिने र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने गतिविधिमा संलग्न रहेको प्रहरीमा उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीका अनुसार, सोम गुरुङलाई पक्राउ गरी साईबर अपराध अन्तर्गत थप अनुसन्धान भइरहेको छ। गुरुङ अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको जनाईएको छ।


