रौतहट सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका–५ बमनहरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध नशालु ईन्जेक्सन सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गतको स्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको टोलीले गौर–चपुर सडकखण्डमा नियमित चेकजाँचका क्रममा उक्त लागुऔषध सहित महिलालाई पक्राउ गरेको हो।


सोमवार साँझ करिब ४ बजे, गौरबाट चपुरतर्फ जाँदै गरेको ना ५ ख ५०६३ नम्बरको यात्रुबाहक बसलाई रोक गरी जाँच गर्ने क्रममा म्याग्दी जिल्ला, बेनी नगरपालिका–९ फुलचौरका खड्ग बहादुर बिकको श्रीमती ६० वर्षीया दिलमाया बिकमाथि शंका लागेपछि उनलाई चेकजाँच गरिएको थियो।
जाँचका क्रममा दिलमाया बिकले बोकेको कालो ब्यागभित्र नशालु ईन्जेक्सन फेनारगन ४९८ पिस (२५ mg), डाईजोपाम – ४९१ पिस, नुफिन – ४०० पिस, बुप्रेनर्फिन – १०० पिस, कुल १ हजार,४८९ पिस लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्।
महिला लाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको प्रहरीले जनाएको छ।

