२०८२ कार्तिक ५, बुधबार १०:३५

पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा भीषण आगलागी भएको छ। आगलागीबाट बस पूर्णरुपमा जलेको हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले बताएको छ।

काठमाण्डौबाट चपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुसन्धान रहेको जनाएको छ।



घटनालगत्तै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रुपेश कुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा ल्याइएको थियो।

आगलागीका कारण बस पूर्णरूपमा जलेर नष्ट भएको भए पनि कुनै मानवीय क्षति भएको छैन, प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, घटनास्थल चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिमतर्फ पर्छ। आगलागीका कारण केही समय सवारीसाधनको आवागमन रोकिए पनि अहिले बाटो पुनः खुलेको छ।

“सडक केही समयका लागि अवरुद्ध भए पनि अहिले आवागमन सहज बनेको छ,” ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङले बताएकी छिन्। डिएस्पी लाबुङका अनुसार बसको ब्रेक जाम भएर तार सर्ट हुनथाले पछी गाडी उक्त स्थानमा एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरु सबै बस बाट बाहिर निस्केको कारण मानवीय क्षती हुन नसकेको डिएस्पी लाबुङको भनाई रहेको छ।

प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Comment


Related News

Latest News

Trending News